तायाःमचा नृत्य प्रतियोगिताको उपाधि गैह्रा पाटन नेवा समाजलाई
पोखरा । नेवारी सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको लेखनाथ, शिशुवा बजारमा पहिलो पटक आयोजना गरिएको तायाःमचा नृत्य प्रतियोगिताको उपाधि गैह्रा पाटन नेवा समाजले जितेको छ । शनिवार राति अबेर सम्पन्न प्रतियोगितामा २६ टिमलाई पछि पार्दै उपाधि सहित गैह्रा पाटनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

प्रतियोगितामा प्रतियोगितामा सरस्वती मन्दिर तायाःमचा समिति द्वितीय, मोहरिया नेवा: टोल तृतीय र नदीपुर तायाःमचा समितिले सान्त्वना स्थान प्राप्त गरेका छन् । द्वितीय सरस्वती मन्दिर समितिले ७५ हजार, तृतीय मोहरिया नेवाले ५० हजार र सान्त्वना नदीपुर समितिले २५ हजार प्राप्त गरे ।
महिलातर्फ भण्डारढिक नेवा: खल प्रथम हुँदै ४० हजार, समाज कल्याण नेवा: खल (राजाको चौतारा) द्वितीय हुँदै ३० हजार र लामाचौर नेवा: खल गुठी तृतीय हुँदै २५ हजार नगदसहित ट्रफी प्राप्त गर्न सफल भएको छ ।
विजेताहरूलाई नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखे, शिशुवा नेवा: खलका अध्यक्ष अर्जुनकुमार ताम्राकार, पोखरा–३ का वडाध्यक्ष प्रकाश उदास, पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी लगायतले पुरस्कार वितरण गर्नुभयो ।
नेवा: खल कास्कीको आह्वानमा शिशुवा नेवा: खलले आयोजना गरेको प्रतियोगिता यसअघि पोखराका विभिन्न स्थानमा हुँदै आएको थियो । यस पटक भने पहिलो पटक लेखनाथ क्षेत्रमा आयोजना गरिएको हो ।
सन् २० वर्षदेखि निरन्तर हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यसअघि भैरव टोल, विन्ध्यवासिनी, तेर्सापट्टी, रानी पौवा, पृथ्वी चोक र राम बजारमा आयोजना गरिएको थियो ।
नेवार समुदायमा परिवारका सदस्यको निधन भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने परम्परा रहिआएको छ । गाईजात्रासँगै प्रस्तुत हुने बाजा र नृत्यलाई ‘तायाःमचा’ भनिन्छ । परम्पराअनुसार गाईजात्राका दिन घर–घरबाट तायाःमचा सहितको जुलुस निकालेर बजार परिक्रमा गराइन्छ । रात पर्न थालेपछि सहभागीलाई असुविधा हुने भएकाले गाईजात्रा सम्पन्न भएपछि पहिलो शनिवार नृत्य प्रतियोगिता आयोजना गर्ने चलन बसाइएको हो ।
प्रतिक्रिया राख्नुहोस्