तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौँ । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति आँकलन गरिएको छ । 

आँकलन गरिएका ७७ हजार ८५२ घरमध्ये चार प्रतिशत अर्थात् तीन हजार ३३९ घर प्रबलीकरण गर्न सकिने वर्गमा परेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विषय विज्ञहरूसहित सरोकारवालासँग आज काठमाडौँमा छलफल भएको थियो ।

निजी आवासका विस्तृत क्षति आकलनबाट प्राप्त तथ्याङ्कका आधारमा प्रबलीकरणको प्राविधिक पक्षका बारेमा छलफल गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले जानकारी दिनुभयो । 

कार्यक्रममा विज्ञहरू प्रा जीवराज पोखरेल, डा प्रेमनाथ मास्के, डा रमेश गुरागाईँ, डा हरिराम पराजुली, पुलचोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक क्षितिजचरण श्रेष्ठले ढुङ्गा माटोका घरहरूको प्रबलीकरण गर्ने विधि एवं नेपालमा प्रबलीकरणको अनुभवबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन)का उपनिर्देशक अविनाश श्रीवास्तवले प्रबलीकरणका विद्यमान नीति तथा कार्यविधिबारे जानकारी दिनुभयो ।

त्यसैगरी, जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विस्तृत क्षति आकलनमा छुटेकाहरूलाई पनि समावेश गर्नुपर्ने सुझाव दिनुभएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव ई अर्जुनकुमार बमले विस्तृत क्षति आँकलनका नतिजाका बारेमा जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button