इलाममा रोपाइँ जात्राको रौनक

इलाम । इलाम सदरमुकामस्थित इलाम बजारमा आज रोपाइँ जात्रा प्रदर्शन गरिएको छ ।
इलामको मौलिक पर्वका रूपमा हरेक वर्ष प्रदर्शन गरिने जात्रा हेर्न आउनेको भीड लागेको छ । इलाम आसपासका स्थान तथा छिमेकी जिल्लाबाट समेत जात्रा हेर्न आएका छन् ।

नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा प्रदर्शन गरिएको जात्रामा रोपाई गीतमा सार मिलाउँदै धान रोप्ने, गोरु जोत्ने र बाउसे गर्ने अभिनय गरिएको छ । हली, बाउसे, रोपारहरू विभिन्न जातीय भेषभूषामा सजिएर जात्रामा सहभागी भएका छन् । जात्राको अर्को आकर्षण लाखे, वनकाइँला, वनकाइँली, सिल्भर मेन, मुङग्रे पनि छन् ।

नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रवीण श्रेष्ठका अनुसार इलामको मौलिक पर्वको रूपमा मनाउँदै आएको जात्रा पर्वको संरक्षण गर्ने उद्देश्य जात्राको आयोजना गरिएको बताउनुभयो । नयाँ पुस्तामा हस्तान्तरण गर्न मौलिक पर्व संस्कृतिलाई जोगाई राख्न आवश्यक राहेको श्रेष्ठको भनाई छ ।
पहिले जस्तो जात्राको रौनक नभए पनि अहिले पनि युवा पुस्तालाई जात्रा बारे बुझाउन र देखाउन रोपाइँ जात्रालाई निरन्तरता दिएको रोशन कर्माचार्य बताउनुहुन्छ ।

पहिले पहिले जात्रामा पुरुषले महिलाको पहिरन र गहना लगाउने गरिन्थ्यो अचेल कम देखिन्छ । महिलाको पहिरनमा सजिनुभएका विपिन श्रेष्ठले अरूलाई पनि अनुरोध गर्नुभयो ।जात्रामा मानिसले मनोरञ्जन पनि लिने भएकोले आफूले महिलाको पहिरनमा जात्रामा सहभागी भएको बताउनुभयो ।
चाडपर्व , संस्कृतिको संरक्षण गर्न सरकारले सहयोग गर्ने इलाम नगरपालिकाका नगर प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो । जात्रा हेर्न र स्थानीय पर्यटन प्रवर्द्धन गर्न सबैले अवसर पाउने भएकोले नगरले बिदा दिएको बताउनुभयो ।

नाग पञ्चमीदेखि लाखे जात्रा, गाईजात्रा र रोपाइँ जात्रा प्रदर्शन गरी कृष्ण जन्माष्टमीको दिन जात्राहरू विसर्जन गरिन्छ । रोपाइँ जात्रा निकालिएको साँझ लिम्बु समुदायले धान नाच नाच्ने चलन छ ।
सुगौली सम्धीपछिको समयदेखि नेवार समुदायको बसोबास इलाममा सुरु भएपछि रोपाइँ जात्रा पर्वका रूपमा मनाउन थालिएको इतिहास छ । नेवारी समुदायले जात्राको संयोजन गरे पनि सबै जातजातिको उतिकै सहभागिता रहेको छ । जात्रालाई इलामेले बहुजातीय, बहु सांस्कृतिक पर्वको रूपमा लिने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्