पूर्व नेपाली र सन्तानलाई आर्थिक–सामाजिक सुविधा दिन सकिने: गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानमा दोहोरो नागरिकको व्यवस्था नभएकाले पूर्व नेपाली र उनका सन्तानलाई आर्थिक तथा सामाजिक सुविधा दिन सकिने बताउनुभयो ।

राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा गृहमन्त्री लेखकले नेपाली नागरिकता त्यागेका र तिनका सन्तानलाई दोहोरो नेपाली नागरिकता दिने कानुनी व्यवस्था नभएता पनि आर्थिक तथा सामाजिक सुविधा भने उपलब्ध गराउन सकिने बताउनुभयो ।

बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको दफावार छलफलमा गृहमन्त्री लेखकले विधेयकमा बाबुले विभिन्न कारणवश सन्तानलाई नागरिकता दिन असमर्थ भएमा आमाको नामबाट नागरिकता प्रदान गर्ने प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकले विवरण नखुलेको संवेदनशील अवस्थामा आपराधिक मनसायले बाबुको गलत विवरण दिएर नागरिकता प्राप्त गरेमा दोषी ठहरिएकालाई कानुनी कारबाहीको भागीदार बनाइने पनि स्पष्ट पार्नुभयो ।
बैठकमा, सांसदहरूले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था भए पनि गैर आवासीय नेपाली, ब्रिटिस गोरखा तथा उनका सन्तानले सामाजिक अवसर तथा सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्नुहुँदै उनका सन्तानलाई राज्यविहीन हुने स्थितिबाट बचाउन विधेयकमा स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरूले आमा वा बाबु दुवैको पहिचान नखुलेको खण्डमा बालबालिकालाई नागरिकताविहीन हुने अवस्थाबाट जोगाउन विधेयकमा आवश्यक कानुनी प्रावधान राख्नुपर्नेमा पनि जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्