तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न भागमा बाढी पहिरोका कारण खानेपानी, सडक यातायात, फोहर व्यवस्थापन लगायतका क्षेत्रमा पुगेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरूले नुवाकोटमा बाढीका कारण नहर क्षतिग्रस्त हुँदा खानेपानी र सिँचाइमा प्रभाव परेको भन्दै  तत्काल पाइपलाइन विस्तार, लिफ्ट वा बोरिङमार्फत पानीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरूले वर्षाका कारण बाढी, पहिरोले विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा स्थानीय नागरिक, विद्यार्थी लगायतले दैनिक जनजीवनमा खेप्नुपरेको सास्ती कम गर्न अल्पकालीन र दीर्घकालीन समस्या समाधानका लागि सरकारसँग माग गर्नुभयो ।

सांसदहरूले सुक्खा ग्रस्त भई सङ्कटग्रस्त क्षेत्र घोषणा भएको मधेस प्रदेशमा पछिल्लो समय पानी पर्न थालेपछि पनि मलको अभावमा धान रोप्न नपाउँदा किसानहरू मारमा परेको बताउनुभयो ।

पछिल्लो समय पानी परेसँगै मधेस प्रदेशमा बाढी र डुबानको समस्या परेको भन्दै समयमा नै सुरक्षाका लागि पूर्व तयारी गर्न सांसदहरूले सरकारसँग माग गर्नुभयो ।

सांसदहरूले भारतको उत्तराखण्डमा गएको बाढीमा परी बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी, उद्धार र राहतका विषयमा सरकारको धारणा माग गर्नुभयो ।

सांसदहरूले मोरङ सुनसरी अन्तर्गतको वैकल्पिक सहायक राजमार्गका रूपमा रहेको सडक हटाइएका कारण स्थानीयलाई आवतजावतमा समस्या परेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button