नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने
काठमाडौँ । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास शृङ्खला खेल्ने जनाएको हो । नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई दुई ट्वान्टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ ।
त्यसै गरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एक दिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ । यो अभ्यास शृङ्खला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ । उक्त सिरिज यही साउन २९ देखि भदौ ८ गतेसम्म हुँदै छ ।
त्यहाँ नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप छनोटको तयारी स्वरूप उक्त खेल खेल्न लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्