तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको सखुवा प्रसौनीमा सरकारी अनुदानको १ सय ९१ बोरा रासायनिक मल बरामद 

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका-२ कटेया गाउँका दुई घरमा प्रहरीले छापा मारेर ठुलो परिमाणमा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको निर्देशनमा खटिएको प्रहरीसहितको अनुगमन टोलीले कटेया गाउँका साह महमद अन्सारी र युनुस अन्सारीको घरमा बुधवार मध्यरातमा छापामा मारेर १ सय ९१ बोरा मल बरामद गरेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनबाट किसानलाई वितरण गर्नका लागि पठाइएको सरकारी अनुदानको मल महँगो मूल्यमा बिक्रीका लागि अवैध रूपमा भण्डारण गरेर राखिएको सूचना प्रमुख जिल्ला अधिकारी अर्याललाई बुधवार प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा साल्ट ट्रेडिङ,कृषि सामग्री कम्पनी ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त अनुगमन टोली खटिएको थियो ।

अनुगमन टोलीले बुधवार मध्यरातमा कटेयाका साह महमद अन्सारीको घरमा छापामा मार्ने क्रममा उक्त घरमा अवैध रूपमा भण्डारण गरी राखिएको डिएपी ९ बोरा, पोटास १८ बोरा र फस्फोट १ सय १४ बोरा मल बरामद गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । 

त्यस लगत्तै टोलीले कटेयाकै युनुस अन्सारीको घरमा छापा मार्ने क्रममा उनको घरमा पनि लुकाएर राखिएको अवस्थामा डीएपी २७ बोरा र पोटास २३ बोरा मल बरामद गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

दुवै घरबाट बरामद १ सय ९१ बोरा मल जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

मल बरामद गरिएको दुवै घरका घरधनीहरू भने फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । 

अहिले पर्सामा धान बालीका लागि मलको चरम अभाव हुँदा किसानहरू समस्यामा छन् । नेपाल सरकारले आयात गरेको मल पनि पर्याप्त छैन  । किसानलाई वितरणका लागि आयात गरिएको अनुदानको मल पनि किसानसम्म पुग्न सकेको छैन । मल वितरणमा अनियमितता र कालोबजारी भइरहेको गुनासो आएपछि प्रजिअ अर्यालले दुई दिन अघि मात्रै जिल्लामा मल वितरक कृषि सहकारी संस्थाका सञ्चालक, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर मल वितरण प्रक्रियालाई सहज र पारदर्शी बनाउन निर्देशन दिनुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी अर्यालकै निर्देशनमा बुधवारदेखि मल वितरण प्रक्रियाको अनुगमनका लागि अनुगमन टोली खटिएको थियो । त्यसै क्रममा बुधवार राति कटेया गाउँका दुई वटा घरमा छापा मारेर १ सय ९१ बोरा मल बरामद गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button