तपाईँ सुन्दै हुनुहुन्छः

समयमै विवरण उपलब्ध नगराउँदा छायाँनाथ राराका सयौं घरधुरी घर बिमा सुविधाबाट वञ्चित

मुगु।कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा सुरु गरेको निःशुल्क घर बिमा कार्यक्रमबाट छायाँनाथ रारा नगरपालिकाका सयौं घरधुरीहरू वञ्चित भएका छन्।

प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले ल्याइएको यो योजनाअनुसार व्यावसायिक प्रयोजनबाहेकका आवासीय घरहरूको अधिकतम २० लाख रुपैयाँसम्मको बिमा गर्ने व्यवस्था छ। तर, नगरपालिकाका केही वडाका कर्मचारीले समयमै विवरण नपठाउँदा सेवाग्राहीले यो सुविधा पाउन सकेनन्।

छायाँनाथ रारा नगरपालिकाका योजना प्रमुख कर्णराज भामका अनुसार नगरपालिकाले ४ हजार घरको बिमा गर्ने लक्ष्य राखेको थियो। तर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमार्फत वडा नं. १, २, ४, १०, १३ र १४ मा मात्र विवरण संकलन भई जम्मा १,३११ घरधुरीको मात्र बिमा गरिएको छ।

नगरपालिकाको आयोजनामा जेठ २० गते वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र उपप्रमुखको उपस्थितिमा एकदिने कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा असार तेस्रो सातासम्म सबै वडाले विवरण बुझाइसक्नुपर्ने बताइएको थियो। तर, वडा नं. ५, ६, ७, ८, ९, ११ र १२ का प्राविधिकहरूले विवरण समयमै नपठाउँदा ती वडाका सेवाग्राही बिमा सुविधाबाट वञ्चित भएका हुन्।

इन्स्योरेन्स कम्पनीका मुगु शाखा प्रमुख मीनबहादुर मल्लका अनुसार पक्की, परम्परागत, ढुङ्गामाटो, काठ वा पराल प्रयोग गरी बनाइएका आवासीय घरहरूको मात्र बिमा गरिएको हो। बिमा कार्यक्रमले भूकम्प, आगलागी, बाढी, डुबान, हावाहुरी, चट्याङ, विस्फोटन, हुलदङ्गा लगायतका विपद्बाट हुने क्षतिमा राहत दिने व्यवस्था गरेको छ।

यसै क्रममा, छायाँनाथ रारा नगरपालिका वडा नं. १० स्थित चराप गाउँमा साउन १४ गते राति परेको अविरल वर्षाले १० वटा घर पूर्ण रूपमा बगायो। तर, बिमा विवरण संकलन नगरिएकाले बाढीपीडितले बिमा सुविधा लिन सकेनन्। स्थानीय राजेन्द्र ऐडीले घर बिमा नभएकै कारण बिमाबापतको रकम दाबी गर्न नपाएको गुनासो गर्नुभयो।

अर्की बाढीपीडित सृजना ऐडीले भनिन्, “सही समयमा विवरण संकलन गरी हामी सबै बाढीपीडितहरूको घरको बिमा भएको भए आज हामीजस्ता पीडित वर्गले बिमा सुविधा पाउने थियौं।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button