नेपाल–चीन सम्बन्धको विषयमा विज्ञहरूसँग छलफल
काठमाडौँ । फ्रेण्डस एन दि क्लाउड: प्लेटफर्म अफ इन्फुलेन्सले नेपाल– चीन बिचको कूटनीतिक सम्बन्धको विषयमा विज्ञहरूसँग छलफल गरेको छ ।

नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध ७० वर्ष पुरा भएको अवसरमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरूले विश्व शक्तिका रूपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा आफ्ना धारणा प्रस्तुत गर्नुहुँदै राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले नेपालले आफ्नो मुख्य मुद्दा विकासलाई बनाउनु पर्ने उल्लेख गर्नुहुँदै चीन र नेपालको योजनाबद्ध विकासको कार्यक्रमसँगै सुरु भए पनि आर्थिक विकास र प्रतिव्यक्ति आयमा नेपाल निक्कै पछि रहेको बताउनुभयो ।
प्रा. डा. भेषराज घिमिरेले चीनसँग नेपालले आर्थिक कूटनीति बलियो पारेर लाभ लिन सक्नुपर्ने बताउनु भयो । प्रा. डा. घिमिरेले नेपालको समृद्धिमा चीनले सघाउँछु भन्दा पनि नेपाल सरकार र राजनीतिक दलहरूले त्यसको फाइदा लिन नसक्नु विडम्बनापूर्ण रहेको बताउनुभयो ।
फ्रेण्डस एन दि क्लाउड: प्लेटफर्म अफ इन्फुलेन्सका अध्यक्ष शोभित उप्रेतीले नेपाल– चीन सम्बन्ध अटुट, विश्वसनीय तथा चिरस्थायी राख्न एक अर्काको संवेदनशीलता र चासोमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार नन्दु उप्रेती, पत्रकार ठाकुर बेलबासे लगायतले नेपाल– चीन सम्बन्ध र त्यसबाट नेपालले लिन सक्ने लाभको विषयमा चर्चा गर्नुभएको थियो । सो अवसरमा फ्रेण्डस एन दि क्लाउड: प्लेटफर्म अफ इन्फुलेन्सको गतिविधिमा सहभागी हुँदै सामाजिक अभियानमा सक्रिय युवा अभियन्ता प्रवीण प्रसाद थपलियालाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्