तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो पर्वतीय दौड प्रतियोगिताको पुरस्कार राशि दोब्बरले वृद्धि

पोखरा । विश्व पर्यटन दिवसका सन्दर्भमा यहीँ असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगिताको पुरस्कार राशिमा दोब्बरले वृद्धि गरिएको छ । 

आयोजक संस्था पोखरा क्लिकले सरोकारवालासँगका विभिन्न चरणका छलफलबाट प्राप्त सुझाव र सल्लाहलाई अनुसरण गर्दै प्रतियोगिताका इभेन्टलाई पनि व्यवस्थित गरी नगद पुरस्कार राशिमा दोब्बरले वृद्धि गरिएको जनाएको छ ।

गत वर्ष ६८ हजार नगद राशिद्वारा छ जना धावक पुरस्कृत भएकोमा यस वर्ष नगद दुई लाख छ हजार रुपैयाँसहित १८ धावक पुरस्कृत हुने भएका छन् ।  प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । यस्तै, दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सात हजार, तीन हजार र छैटौँदेखि १० औँ स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एक हजार नगद मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने भएको छ । पुरस्कार राशिमा करिब ६६ प्रतिशतले वृद्धि गरेको प्रा.लि.ले जनाएको छ ।

गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सात हजार रुपैयाँ रहेको थियो । यसैगरी, वडा स्तरीय खुला, महिला र यु–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सात हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत हुने भएका छन् । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।

भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने कार्यक्रम व्यवस्थापक सागर सुनारले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग जोडिने भएकाले प्रतियोगितालाई खेलकुदसँगै पर्यटन र अर्थतन्त्रसँग जोडेर बृहत् आयामबाट हेर्नुपर्नेमा धारणा राख्नुभयो ।

१६ लाख ९१ हजार रुपैयाँ लागत लाग्ने प्रतियोगितामा विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद्, होटेल मुस्ताङ लेते एन्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद् लगायत स्थानीय व्यावसायिक संस्थाको सहयोग रहेको पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button