सप्तकोसी नदीको जोखिम क्षेत्रमा प्रजिअ लुइँटेल नेतृत्वको टोलीद्वारा निरीक्षण
उदयपुर । लगातारको वर्षा सँगै सप्तकोसी नदीमा पानीको बहाव बढेपछि भएको तटीय क्षेत्रको जोखिम युक्त क्षेत्रमा उदयपुर जिल्ला प्रशासनले स्थलगत अवलोकन गरेको छ ।

जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू सहित सप्तकोसी नदीकाे जोखिममा रहेको बेलकामा आज सोमबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलको नेतृत्वमा बेलका नगरपालिका सहितको टोलीले निरीक्षण गरेको हो ।
जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर-८, ९, ३ र २ हरेक वर्ष सप्तकोसी नदीको उच्च जोखिममा पर्दै आएका छन् । विगत ७ वर्षदेखि कोसी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान सुरु गर्दै आएको छ, जसले बस्तीहरूमा ठुलो जोखिम निम्त्याएको छ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, प्रहरी नायव उपरीक्षक हरिहरनाथ योगी, प्रमुख सेनानी मनोज कार्की, बेलका नगरपालिकाका उपप्रमुख जिरा राई, प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्यलगायत सहभागी थिए।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले नदीको बहाव बढेर बस्तीतर्फ पस्ने खतरा देखिएमा तत्काल उद्धारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको बताउनु भयो । साथै, नदीको पानी बस्तीमा प्रवेश गर्न नदिन विगतमा ठेक्का सम्झौता भएको नदी नियन्त्रणको कामलाई तीव्रता दिन बेलका नगरपालिकाले सम्बन्धित निकायसँग आग्रह गरेको छ।
प्रतिक्रिया राख्नुहोस्