सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गर्नु भएको छ ।
उहाँले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गर्नु भएको हो । बैठकमा सभामुख भिमबहादुर भण्डारीले विश्वासको मतको पक्षमा ३० र विपक्षमा १५ मत खसेको बताउनु भयो । उहाँले विश्वासको मतको पक्षमा खसेको मत बहुमत भएकाले मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गरेको घोषणा गर्नु भयो ।
बैठकमा विश्वास मत प्रयोजनका लागि मत विभाजन पक्रिया थालिएको थियो । मुख्यमन्त्री शाहले प्रदेश सभामा पेश गर्नु भएको विश्वासको मतको पक्षमा नेपाली काँग्रेस १८, नेकपा एमाले ११ र नागरिक उन्मुक्तिका १ जनाले मतदान गर्नु भएको थियो । यस्तै प्रस्तावको विपक्षमा नेकपा माओवादी केन्द्र १०, नेकपा एकीकृत समाजवादी ३, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्यले मतदान गर्नु भएको थियो । आजको बैठकमा ६ जना अनुपस्थित रहेका थिए ।
त्यसअघि मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रदेश सभा बैठकमा प्रस्ताव प्रस्तुत गर्नु हुँदै प्रदेशको विकास र समृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनु भयो । उहाँले प्रदेश राजधानी निर्माणका लागि सबै जिम्मेवार ढङ्गले लाग्नु पर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री शाहले २०८१ साउन २० गते पहिलो पटक विश्वासको मत लिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्