ठुली भेरी नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार
सुर्खेत । डोल्पाका सुरक्षाकर्मीको टोलीले ठुली भेरी नगरपालिका–३ स्थित धुपी चौरमा भेरी नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरेको छ ।

आज बिहान उर्लेर आएको ठुली भेरीले ल्याएका दाउरा सङ्कलन गर्न गएका चार जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको हो ।
उद्धारमा हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका–६ पालङ्ग गाउँ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३७ वर्षीय श्यामलाल बोहरा र ३५ वर्षीय लालकुमार बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार दाउरा सङ्कलनका लागि गएका चार जना दुईतिर बाँडिएको भेरीको भेलमा फसेको खबर आएपछि तत्कालै डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको निर्देशनमा सुरक्षाकर्मीको टोली उनीहरूको सकुशल उद्धार गरेको हो ।
उद्धार कार्यमा डोल्पा प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुकबहादुर खड्का, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दीपकराज भट्ट र नेपाली सेनाका सङ्ग्राम शार्दूल गुल्मका सेनानी हरिस शाहीको सहभागिता रहेको थियो । उद्धार कार्यमा खटिएका केही सुरक्षाकर्मीलाई चोटपटक लागेको डोल्पा प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुकबहादुर खड्काले जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्