तपाईँ सुन्दै हुनुहुन्छः

परम्परा र संस्कृति जोगाउन भोजपुरमा युवा सक्रियता बढ्दै

भोजपुर । नाग पञ्चमीसँगै पहाडी जिल्ला भोजपुरमा मङ्गलवारबाट बिधिवत रूपमा लाखेजात्रा सुरु भएको छ । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियता पनि जिल्लामा बढ्दो छ । 

परम्परागत लाखे नाच लगायतका परम्परालाई निरन्तरता दिँदै रीतिरिवाज, भेषभूषा र संस्कृति जोगाउन भोजपुरमा युवाको सक्रियता बढ्दै गएको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत संस्कारहरू जोगाउने अभियान सुरु गरिएको युवा नवीन बुढाथोकीले बताउनुभयो । 

नाग पञ्चमीका दिनदेखि सुरु लाखे नाचलाई जिल्लामा व्यवस्थित गर्ने गरी निर्णय समेत गरिएको छ । यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकोमा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितामा जोड दिँदै यसको बिस्तार समेत गर्न थालिएको छ । प्रत्येक वर्ष निकालिने लाखे नाच व्यवस्थापन सहित यसको निरन्तरताका लागि आफूहरू जुटेको स्थानीय युवा विकल श्रेष्ठले बताउनुभयो ।

केही ठाउँमा गठे मङ्गलदेखि नै लाखे नाच सुरु हुने भए पनि भोजपुरमा नाग पञ्चमीदेखि मात्र नचाउने प्रचलन रहेको छ । परम्पराको संरक्षण र संवर्द्धनका लागि भोजपुर बजार लाखे समाज बनाएर अहिले लाखे नाचलाई व्यवस्थित गरिएको समाजका सचिव नवीन प्रधानले बताउनुभयो । 

जिल्लाका स्थानीय मठमन्दिरमा नाग पञ्चमीका दिन पूजा अर्चना गरिएसँगै लाखे नाच शुभारम्भ भएको हो । जिल्लाको भोजपुर नगरपालिकाभित्र, बजारका साथै पानी ट्याङ्की, टक्सार, डाँडागाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखे नाच नचाउने गरिन्छ । जिल्लाको पूर्वी अरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रमा समेत लाखे नाच नचाउने परम्परा रहँदै आएको छ ।

नाग पञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंसलाई नाश गरेको दिनसम्म नचाउने प्रचलन रहँदै आएको छ । रीतिरिवाज र परम्परा जोगाउन भोजपुरका युवाले थालेको अभियान र परम्परा वास्तवमै महान् कार्य भएको नेवा: देय दबू भोजपुरका अध्यक्ष बद्रीकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button