तपाईँ सुन्दै हुनुहुन्छः

चरिकोटमा लाखेनाच

चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा यो वर्षको लाखेनाच सुरु भएको छ । चरिकोटमा यो नाच गठेमङ्गल (घण्टाकर्ण) को भोलिपल्टबाट प्रदर्शन सुरु गरी कृष्ण जन्माष्टमीको भोलिपल्ट राति १२ बजे कृष्णले सुदर्शन चक्रले हानेर लाखेलाई मारेपछि अन्त्य गरिने आयोजक लालिगुँरास युवा क्लब चरिकोटका अध्यक्ष प्रवीण श्रेष्ठले बताए । 

लाखे नाच प्रदर्शन सुरु गर्नु अघि गठेमङ्गलको दिन राति नाट्यश्वरीको पूजा गरी नेवार समुदाय र पाहुनाहरू समेत जम्मा भएर प्रसाद खाइएको क्लबका सचिव विपिन श्रेष्ठको भनाई छ । 

नाट्यश्वरीको पूजा गरेपछि परालको राक्षस बनाएर बाजागाजा सहित बजार घुमाउने र चोकमा ल्याएर उक्त परालको राक्षसलाई जलाउने प्रचलन समेत रहेको छ । घण्टाकर्ण राक्षसले बच्चालाई दूध दिने भएकोले यसरी सबैको अगाडि जलाउने गरिएको किंवदन्ती समेत पाइन्छ ।   

कंसले कृष्णलाई मार्न पुतनालाई पठाएको तर उल्टै कृष्णले नै पुतनालाई मारिदिएको पौराणिक कथावस्तुमा आधारित भई चरिकोटमा २०१५÷०१६ सालदेखि लाखेनाच प्रदर्शन गर्दै आएको चरिकोटका स्थानीय ज्येष्ठ समाजसेवी रामदास श्रेष्ठले बताए । यो नाच सांस्कृतिक सहर दोलखाको सिको गर्दै चरिकोटमा सुरु गरिएको ज्येष्ठ समाजसेवी रामदास श्रेष्ठको भनाई छ ।

लाखेलाई पुतनाको रूपमा हेरिने यो नाच गठेमङ्गलको भोलिपल्ट देखि मुख्य बजार क्षेत्रहरूमा प्रदर्शन गरिन्छ । यसको लागि लालिगुँरास युवा क्लबले नाच प्रदर्शन तालिका सार्वजनिक गरेको अध्यक्ष प्रवीण श्रेष्ठले बताए ।

सदरमुकाम चरिकोटमा झण्डै डेढ सय वर्ष अघिदेखि नेवार समुदायको बसोबास रहँदै आएको स्थानीय ज्येष्ठ नागरिकहरूको भनाई छ । कुनै लिखित दस्ताबेज नभएपनि भक्तपुरको सुकुल ढोकाबाट काभ्रेपलान्चोक जिल्लाको नाङ्ग्रे हुँदै सुरुमा पञ्चवीर श्रेष्ठ र कृष्णवीर श्रेष्ठ दुई दाजुभाइ अहिलेको पुरानो बजारमा आएर बसोबास गरेको इतिहास प्रचलनमा रहेको पाइन्छ । त्यसपछि भक्तपुरकै दत्तात्रयबाट व्यापारको सिलसिलामा हरिकृष्ण श्रेष्ठ समेत आएपछि चरिकोट पुरानो बजारमा नेवार समुदायको बसोबासमा वृद्धि हुँदै गएको थियो । 

चरिकोट बजारमा नेवार समुदायको बसोबासमा वृद्धि हुँदै गएपछि त्यति बेलाको संस्कृत प्रेमी युवाहरू नारायणकृष्ण श्रेष्ठ, हिरालाल श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, अमृतबहादुर श्रेष्ठ, फत्तबहादुर श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, नारायणलाल श्रेष्ठ, अर्जुनबहादुर श्रेष्ठ, टङ्क मास्के लगायतको अगुवा तथा अभिभावकहरू रत्नबहादुर श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, हर्कसुन्दर श्रेष्ठ, रत्ननारायण श्रेष्ठ लगायतको प्रेरणामा लाखेनाच, हिलेजात्रा, मारुनी नाच जस्ता सांस्कृतिक पर्वहरू मनाउँदै आएको ज्येष्ठ समाजसेवी रामदास श्रेष्ठ बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button