तपाईँ सुन्दै हुनुहुन्छः

दूधमा अनुदान दिन थालेपछि …

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूधमा अनुदान दिन थालेपछि उत्पादनमा शतप्रतिशतले वृद्धि भएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले गत आर्थिक वर्षमा प्रतिलिटर रु २० अनुदानको व्यवस्था गरेको थियो । जसअन्तर्गत एक लाख ५८ हजार १२६ लिटर दूध किसानले सहकारीमार्फत बिक्री गरेर अनुदान रकम प्राप्त गरेको हुप्सेकोट गाउँपालिकाका पशु सेवा शाखा प्रमुख अधिकृत बुद्धिबहादुर देउजाले बताउनुभयो ।

“आर्थिक वर्ष २०८० /८१ मा ७५ हजार २०० लिटर दूध किसानले बिक्री गरेकामा गत आव २०८१ /८२ मा एक लाख ५८ हजार १२६ लिटर दूध बिक्री गरेका छन्”, उहाँले भन्नुभयो, “गत आवमा मात्र प्रतिलिटर रु २० अनुदानले गर्दा रु ३१ लाख ६२ हजार ५२० गाउँपालिकाले किसानलाई भुक्तानी गरेको छ ।”

हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछि दूध उत्पादनमा वृद्धि भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८÷७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि भएको पाइएको छ । यसअघि किसानले सहकारीमा बिक्री गरेको दूधको तथ्याङ्कका आधारमा सहकारीमार्फत अनुदान रकम वितरण गर्ने गरिएकामा गत आवदेखि सबै किसानको व्यक्तिगत बैंक खातामा नै गाउँपालिकाले रकम भुक्तानी गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

“आव २०७९÷८० मा प्रतिलिटर रु पाँच, २०८० /८१ मा प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराइएको थियो”, उहाँले भन्नुभयो, “गत आवदेखि प्रतिलिटर रु २० अनुदान व्यवस्था गरेका हाँै । यसको प्रतिफलस्वरूप घरायसी प्रयोगका लागि मात्र दूध उत्पादन गर्ने किसानले अहिले बिक्री गर्नेगरी पशुपालन गर्न थालेको पाएका छाँै ।”

गाउँपालिकाले दूधमा अनुदान रकम दिन थालेपछि प्रत्येक वर्ष उत्पादन पनि बढेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताउनुभयो । आव २०८० /८१ मा ७५ हजार २०२ लिटर दूध किसानले बिक्री गरेकामा गत आवमा त्यसमा शतप्रतिशत वृद्धि भई एक लाख ५८ हजार १२६ लिटर दूध किसानले बिक्री गरेको पाइएको पराजुलीले जानकारी दिनुभयो ।

“गाउँपालिकाभित्रका दुग्ध सहकारीले उपलब्ध गराएको चौमासिक तथ्याङ्कका आधारमा किसानकै बैंक खातामा अनुदान दिने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादनका आधारमा अनुदान दिने कार्यक्रमले गाउँपालिकाभित्र पशुपालक किसानको सङ्ख्या पनि वृद्धि भएको छ ।”

उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थालेपछि दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो ।

“हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार किसानलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्, चालु आवका लागि पनि दूधमा प्रतिलिटर रु २० अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ”, उहाँले भन्नुभयो ।

गत आवमा सबैभन्दा धेरै दूध बिक्री गरेर हुप्सेकोट –४ शङ्खदेवका किसान कृष्णप्रसाद सापकोटाले रु दुई लाख ७८ हजार ६०६ गाउँपालिकाबाट अनुदान रकम प्राप्त गर्नुभएको लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो । उहाँले १३ हजार ९८० लिटर दूध बिक्री गर्नुभएको लेखा अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button