डडेल्धुरामा भुस्याहा कुकुरको बन्ध्याकरण अभियान सुरु
डडेल्धुरा । डडेल्धुरामा खुला रुपमा रहेका भुस्याहा कुकुरको बन्ध्याकरण अभियान सुरु गरिएको छ। दुई दिनसम्म सञ्चालन हुने अभियानको उद्घाटन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शुक्रबार गर्नुभयो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजनामा सञ्चालित अभियानमा काठमाडौँबाट आएका विज्ञ पशु चिकित्सकहरू सहभागी छन्। केन्द्रका प्रमुख देवराज भट्टका अनुसार पहिलो दिनमै ३३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ भने कुल १०० भन्दा बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको छ।
खुला सडकमा सुत्ने कुकुरका कारण ट्राफिकमा समस्या हुने, बिहान हिँडडुल गर्ने र विद्यालय जाने बालबालिकालाई खतरा हुने अवस्था देखिएपछि अभियान सुरु गरिएको भट्टले बताउनुभयो।
गत वर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरिएकाले यसपालि कुकुरको संख्या घटेको अनुमान गरिएको छ। अभियानले डडेल्धुरामा भुस्याहा कुकुरको संख्या नियन्त्रणमा ल्याउने र स्थानीयलाई हुने जोखिम कम गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्