तपाईँ सुन्दै हुनुहुन्छः

चालु आवको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट शिक्षा लिँदै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको वार्षिक समीक्षा तथा तथा कार्ययोजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री कँडेलले योजना केवल कागजमा सीमित नरहोस् भनेर समयमै र परिणाममुखी ढङ्गले कार्यान्वयन गर्नु आवश्यक रहेको औँल्याउनुभयो । 

विगतमा के–कस्ता कमजोरी गरेका थियौँ, त्यसको आधारमा आगामी बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँदै उहाँले बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा पारदर्शिता, जबाफदेहिता र समन्वय हुनुपर्नेमा पनि जोड दिनुभयो । 

योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन निर्माण कार्य जस्ता चुनौतीहरूको पुनरावृत्ति नहुने वातावरण बनाउन सचिव र कार्यालय प्रमुखलाई उहाँले निर्देशन दिनुभयो । जनताको आवश्यकता बुझेर योजना बनाउन सके मात्र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकिने उहाँको भनाइ थियो । 

उहाँले सङ्घीय, स्थानीय तह, मन्त्रालय, आयोजना कार्यान्वयन एकाइहरू बीचको समन्वय बलियो बनाउँदै अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने हो भने मात्र सरकारले गरेको विकास जनताले अनुभूति गर्ने जनाउनुभयो । 

कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुख, जिल्लाका कार्यालय प्रमुखको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button