तपाईँ सुन्दै हुनुहुन्छः

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबारको सामान आयात

भद्रपुर,झापा ।  पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा रु ४७ अर्ब ६० करोड छ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा रु दुई अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात गरिएको हो । 

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । उहाँले पेट्रोलियम पदार्थ रु १९ अर्ब ९४ करोडको आयात हुँदा रु चार अर्ब ४५ करोड बढीका जुट तथा जुटका सामग्री आयात भएका जानकारी दिनुभयो । 

गत आवमा आयात र निर्यातमा सामान्य वृद्धि भएको भन्सार अधिकृत हुमागाईँले बताउनुभयो । उहाँका अनुसार आयातमा छ दशमलव ५८ प्रतिशत अर्थात् रु दुई अर्ब ९३ करोडले वृद्धि हुँदा निर्यात भने दुई दशमलव ९६ प्रतिशत अर्थात् रु ७२ करोड २७ लाखले बढेको छ ।

गत वर्ष यो नाका हुँदै रु २५ अर्ब १३ करोड ९७ लाख मूल्य बढीका वस्तु तथा सामान निर्यात गरिएको भन्सार अधिकृत हुमागाईँले जानकारी दिनुभयो । आव २०८०/८१ मा रु २४ अर्ब ४१ करोड ७० लाख मूल्य बराबरको वस्तु निर्यात गरिएको थियो । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button