मोरङमा हरित अभियान अन्तर्गत ६ लाख ६० हजार बिरुवा उत्पादन
विराटनगर । डिभिजन वन कार्यालय मोरङले हरित अभियान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०८१/०८२ मा ६ लाख ६० हजार बिरुवा उत्पादन गरेको छ ।
हैसियत बिग्रिएका वन क्षेत्र तथा सामुदायिक एवं साझेदारी वनको खाली पर्ती जग्गामा वृक्षारोपण गर्ने उद्देश्यले कार्यालयले उत्पादन गरेको बिरुवा निःशुल्क वितरण गर्दै आएको छ ।

विराटनगर स्थित डिभिजन वन कार्यालय र निजी र सरकारी गरी २१ वटा नर्सरी मार्फत निःशुल्क रूपमा बिरुवा वितरण हुँदै आएका र हालसम्म साढे तिन लाख बढी बिरुवा वितरण भइसकेको कार्यालयका अधिकृत एवं सूचना अधिकारी राम लखन ठाकुरले बताउनुभयो ।
कार्यालयले वहुवर्षे ४ लाख १० हजार र एक वर्षे २ लाख ५० हजार बिरुवा उत्पादन गरेको छ । मसला, जामुना,निम, टिक, कदम,असोक, कल्किफुल,खयर, ईपिल लगायत प्रजातिका बिरुवा उत्पादन गरेको र यो महिनाको अन्तसम्म सबै बिरुवा वितरण भइसक्ने अधिकृत ठाकुरले बताउनुभयो ।

बिरुवा उत्पादनसँगै वृक्षारोपण अभियानलाई समेत कार्यालयले तीव्रता दिएको छ । गत आर्थिक वर्ष साढे ४१ हेक्टर जग्गामा वृक्षारोपण गरिएका कार्यालयले जनाएको छ । सामुदायिक तथा साझेदारी वनको सहयोगमा वृक्षारोपण गर्दै खालीपर्ति जग्गालाई हरियाली बनाएको अधिकृत ठाकुरको भनाई छ ।
अघिल्लो आर्थिक वर्ष ०८०/०८१ म कार्यालयले ८ लाख बिरुवा उत्पादन गरेको थियो । सो आर्थिक वर्ष ३६ हेक्टर जग्गामा वृक्षारोपण भएको थियो । यसरी सहज रूपले बिरुवा उत्पादन र वितरण हुन थालेपछि खेतबारीमा बिरुवा लगाउने क्रम समेत बढ्दै जाँदा निजी वनप्रति किसानको आकर्षण समेत बढ्न थालेको छ ।
मोरङ जिल्लामा ६ सय १८ निजी वन दर्ता भएका छन् । किसानले २ कठा देखि एक बिघा क्षेत्रफलमा निज वन लगाएर काठ उत्पादनमा जोड दिन थालेका छन् । यो वर्ष समयमा वर्षा हुन नसक्दा पर्याप्त मात्रामा बिरुवा वितरण हुन सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्