तपाईँ सुन्दै हुनुहुन्छः

दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार

वालिङ (स्याङ्जा)। स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार गरिएको छ । जिल्लामा आर्थिक वर्ष २०७३/०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन हुँदै सुपरजोनमा परिणत भएसँगै सुन्तला बगैँचा विस्तारले तीव्रता पाएको हो ।

परियोजना सुरु गर्ने बेलामा कूल ८८७ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा थियो । हाल सो क्षेत्रफल करिब तीन गुणाले विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीले जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०८०/०८१ सम्म दुई हजार २५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा थियो”, उहाँले भन्नुभयो, “गत आवमा १०० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा विस्तार भएको छ ।” परियोजनाले समूह सहकारी, कृषि फार्महरुमा आबद्ध कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, सिँचाइका सामग्री, निलोतुथो, खोप, विषादीलगायत सहयोग गर्ने गरेको छ ।

स्याङ्जामा २४ सहकारी संस्था, ८७ कृषक समूह, २५१ वटा निजी तथा व्यावसायिक फार्ममा सुन्तला बगैँचा विस्तार गरिएको छ । “स्याङ्जाका ११ स्थानीय तहमध्ये कालीगण्डकी गाउँपालिकाबाहेक सबैमा सुन्तला सुपरजोन सञ्चालनमा छ”, उहाँले भन्नुभयो, “पुतलीबजार, भीरकोट, अर्जुनचौपारीमा तुलनात्मक रुपमा सुन्तला बगैँचाको क्षेत्रफल बढ्दो छ ।”

गत आव २०८१/०८२ मा सुन्तला बगैँचा रहेको क्षेत्रफलको ६० प्रतिशत बोटबाट उत्पादित सुन्तलाबाट रु एक अर्ब १२ करोडको आम्दानी भएको थियो । कूल क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा बिरुवा लगाइएको र उत्पादन नदिइसकेकाले आगामी दिनमा उत्पादन वृद्धि हुँदै जाने जनाइएको छ ।

यहाँ दश वर्षका लागि सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा रहने भनिएकामा यो अन्तिम वर्ष हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button