तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा एक वर्षमा सवारी दुर्घटनाबाट १२० को मृत्यु, १८७७ घाइते 

चितवन  । चितवनमा गत आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनाबाट १२० जनाको मृत्यु भएको छ भने १८७७ जना घाइते भएका छन्  । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत आवमा एक हजार ५० वटा सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।

घाइते मध्ये  १७२ जना गम्भीर र एक हजार ७०५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । अघिल्लो आव २०८०/०८१ मा दुर्घटनाबाट ११५ जनाको मृत्यु भएको थियो ।

जिल्लामा सवारी दुर्घटनाबाट हरेक महिना औसत १० जनाको मृत्यु भएको देखिन्छ । सबैभन्दा बढी कात्तिकमा १८ जनाको मृत्यु भएको थियो भने सबैभन्दा कम गएको जेठमा चार जनाको मृत्यु भएको प्रहरीको रेकर्ड छ । दुर्घटनामा कुल एक हजार ६१० वटा सवारीसाधन संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल/स्कुटर संलग्न छन् । ९५३ वटा मोटरसाइकल/स्कुटर, २१३ जिप/कार, १०६ वटा ट्रक/ट्याङ्कर, १२ टिप्पर, ७३ बस, १६ माइक्रो, २२ ट्याक्टर र ६३ वटा अटो दुर्घटनामा परेको शर्माले बताए । साइकललगायत शारीरिक शक्तिबाट चल्ने १४६ र अन्य छवटा सवारीसाधन पनि दुर्घटनामा संलग्न देखिएको उहाँले बताउनु भयो ।

‘सडकअनुसार हेर्दा पूर्व–पश्चिम राजमार्गमा दुर्घटनाबाट धेरैको मृत्यु भएको छ । राजमार्गमा भएका २५५ वटा दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको छ’, शर्माले भन्नुभयो । पूर्वी चितवनमा राजमार्ग साँघुरो भएकाले धेरै दुर्घटना हुने गरेका छन् । असार ७ गते राप्तीमा बस र माइक्रोबस आपसमा ठोक्किँदा एक गर्भवतीसहित सात जनाको मृत्यु भएको थियो ।

यसबाहेक, भित्री सडकखण्डमा ५७७ वटा दुर्घटना हुँदा ४१ जना र नारायणगढ–मुग्लिन सडकमा १०४ वटा दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । त्यस्तै, सहरी सडकखण्डमा ८६ वटा दुर्घटना हुँदा पाँच जना र पृथ्वी राजमार्गमा २८ वटा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको देखिन्छ ।

दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरबाही हो । चालकको लापरबाहीमा तीव्र गति, मापसे/लापसे र हेलमेट नलगाई सवारी चलाउनुलगायत पर्छ । करिब ६९ प्रतिशत सवारी दुर्घटना मोटरसाइकल तथा स्कुटरको कारण भएको देखिन्छ । मोटरसाइकल तथा स्कुटर दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन गर्दै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button