तपाईँ सुन्दै हुनुहुन्छः

‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’ कृतिको लोकार्पण

उदयपुर । उदयपुरमा शनिबार एक साथ दुई कृतिको लोकार्पण गरिएको छ ।

जिल्लाको सदरमुकाम गाईघाट स्थित संगम पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच कथाकार बोधकुमार घिमिरेद्वारा लिखित ‘बलिदानका कथाहरू’ कथा सङ्ग्रह र कवि हिमालय पौडेलको ‘शिखण्डी’ खण्डकाव्यको एक साथ लोकार्पण गरिएको हो ।

संगम पुस्तकालयको आयोजनामा आयोजित कार्यक्रम प्रा.डा. टङ्क प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, प्राज्ञ रामप्रसाद खरेल, साहित्यकार राममणि पोखरेल, वम देवान, विन्दु दाहाल ‘मुकदर्शक’, ताराबहादुर बुढाथोकी, वासु पोखरेल, उद्धव घिमिरे जस्ता ख्यातिप्राप्त  सर्जकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख जिल्ला अधिकारी लुइँटेलले लेखक द्वयलाई यस्ता कृति लेखन तथा प्रकाशनमा थप सफलताको शुभकामना दिँदै शिखण्डी खण्डकाव्यको प्रतीक, विम्ब, रस र अलङ्कारजन्य विशेषताका आधारमा समालोचनात्मक टिप्पणी गर्नुभयो। 

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै टिका प्रसाद पौडेलले कृतिको कथा संरचना र भाव पक्षको गहिरो विश्लेषण गर्नु भयो भने पुण्य कार्कीले बलिदानका कथाहरूमा समेटिएका ११ कथाहरूले माओवादी द्वन्द्वका सकारात्मक–नकारात्मक पक्ष उजागर गरेको बताउँदै यसलाई दुखान्तचेत, प्रगतिवादी र यथार्थवादी धाराको महत्त्वपूर्ण अभिव्यक्ति रुपमा चर्चा गर्नु भयो ।

कार्यक्रममा उपस्थित अन्य सर्जकहरू विन्दु दाहाल ‘मुकदर्शक’, राममणि पोखरेल, सङ्खुवासभाका साहित्यकार ताराबहादुर बुढाथोकी लगायतले लोकार्पण गरिएका दुवै कृतिमाथि संक्षिप्त टिप्पणी गर्दै आफ्ना रचनाहरू प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा आफ्ना भनाई राख्नु हुँदै प्राज्ञ रामप्रसाद खरेलले कुनै पनि सर्जकको कृति सार्वजनिक भएपछि आम पाठक श्रोताको माया र गाली दुवै पाइने भन्दै यस बाट विचलित नभई सर्जकले हिम्मत नहारी थप ऊर्जाका साथ आफ्ना रचनाहरूलाई सार्वजनिक गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टङ्क प्रसाद न्यौपानेले कोशी प्रदेशमा ‘प्रदेश प्रज्ञा प्रतिष्ठान’ स्थापना गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले उदयपुरको  ऐतिहासिक गढी “उदयपुर गढी“को गहन अध्ययन गरि यसको इतिहास खोजी गरेर प्रकाशन गर्नु पर्ने बताउनु भयो । प्रा.डा. न्यौपानेले कथा लेखनमा आकस्मिक आरम्भ र अप्रत्याशित अन्त्य आवश्यक हुने बताउँदै “अनुभूतिको ढाँचालाई कल्पनामा रूपान्तरण गर्दा मात्र कथा बन्न सक्छ” भन्ने सन्देश दिनुभयो।

साहित्यिक रचनात्मकताको उत्सवका रूपमा सम्पन्न यस कार्यक्रममा साहित्य प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम संगम पुस्तकालयका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा पुस्तकालयका सल्लाहकार महेन्द्र राईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button