पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौडमार्फत अन्य गन्तव्यहरूलाई पनि प्रवर्द्धन गर्नुपर्नेमा जोड

पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आउँदो असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता २०८२ लाई सफल पार्न सरोकारवालाहरूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आफ्नो गाउँको पर्यटन सँगै खेलकुदको प्रवर्द्धन गर्न गर्ने उद्देश्यले आयोजना हुने सो प्रतियोगितालाई आफ्नै ठानेर उत्कृष्ट बनाउन सरोकारवालाहरूले बिहीबार पोखरामा आयोजित छलफलमा आवश्यक सहयोग गर्ने वचन दिएका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधिहरूले पहिचान र गौरव सिर्जना गर्ने उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन आफू पूर्ण रूपमा कटिबद्ध रहेको जनाउनुभयो। “हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पुर्याउनुपर्छ,” भन्दै उहाँले प्रतियोगिता खेलकुदसँगै पर्यटन र अर्थतन्त्र सँग जोडिने भएकाले यसलाई सङ्कीर्ण दृष्टिकोणले हेर्न नहुने धारणा राख्नुभयो ।
भुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगी चन्द्रकान्त बरालले अघिल्लो संस्करणका कमजोरी सच्याउँदै यस पटकको प्रतियोगिता अझ भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो। पुम्दी र भुम्दी क्षेत्र आफैँमा पर्यटनका सम्भावना बोकेको स्थान भएकाले पर्वतीय दौडजस्ता कार्यक्रम मार्फत अन्य गन्तव्यहरूलाई पनि प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विश्व शान्ति स्तुप समितिका अध्यक्ष अशोक गुरुङले पहिलो संस्करणमा देखिएका चुनौतीलाई चिर्दै दोस्रो संस्करणलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो। समितिका सचिव दुर्गाबहादुर गुरुङले गतवर्ष चिया तथा बिस्कुट व्यवस्थापन गरेको अनुभव सुनाउँदै यस पटक पनि उत्सवकै रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले प्रतियोगिताका लागि आवश्यक स्वयंसेवक परिचालनको सम्पूर्ण व्यवस्थापन गर्ने जानकारी दिनुभयो। प्रतियोगिताको संयोजक दीननाथ बरालले अघिल्लो संस्करणको अनुभवलाई आधार बनाएर यस पटक केही नयाँ र थप आकर्षक तत्त्वहरू समावेश गरिने तयारी भइरहेको जानकारी दिनुभयो ।
पोखरा क्लिक प्रालीको आयोजनामा हुन लागेको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्यमा सञ्चालन गरिनेछ ।
प्रतियोगिताले स्थानीय खेल प्रतिभा प्रोत्साहनसँगै समग्र खेलकुद र पर्यटन प्रवर्द्धनमा सामुदायिक एकता विस्तारमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने पोखराक्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतमले बताउनु भयो । आगामी भदौ पहिलो साता देखि अनलाइन फम मार्फत धावकहरूले सहभागी जनाउन सक्ने भएको व्यवस्थापक सागर सुनारले जनाउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्