कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’
गण्डकी । पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म पछिल्लो समय व्यावसायिक कृषि गर्न चाहने जो कोहीका लागि प्रभावकारी पाठशाला बनिरहेको छ ।
एकैठाउँमा कृषिका विविध गतिविधिबारे जान्न बुझ्न पाइने भएकाले देशका विभिन्न स्थानबाट समूह-समूहमा उक्त फार्ममा मानिस आउने गरेका छन् । फार्ममा आएका व्यक्तिलाई यहाँ भएका खेती तथा प्रयोग गरिएका विधि र प्रविधिका बारेमा प्रयोगात्मक तरिकाले जानकारी दिने गरिएको फार्म सञ्चालक मीनाकुमारी गुरुङले जानकारी दिनुभयो ।
विदेश बसाइँको करिब १६ वर्षको अनुभव सँगाल्नुभएकी ५९ वर्षीया गुरुङ स्वदेशमा केही गर्नुपर्छ भन्ने सोंचका साथ व्यावसायिक कृषिमा लाग्नुभएको हो । उहाँसँग जापानसहित हङ्कङ, ब्रुनाई, अमेरिका तथा बेलायतका विभिन्न अनुभव छन् । पछिल्ला आठ वर्षयता माया इको भिलेज एकीकृत फार्म सञ्चालन गर्दै आउनुभएकी उहाँको फर्ममा विभिन्न कृषक समूहका तालिमहरू सञ्चालन हुन्छन् । तालिमका सहभागीलाई उहाँ स्वयंले आफ्नो सिकाइका ज्ञान र अनुभव प्रदान गरिरहनुभएको छ ।
विभिन्न ठाउँमा कृषिसम्बन्धी औपचारिक तालिममा समेत सहभागी हुनुभएकी गुरुङलाई विभिन्न कृषि सम्बद्ध सङ्घसंस्थाले तालिमका लागि बोलाउने गरेका छन् । गुरुङको ३० रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत कृषि फार्ममा सीताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायत खेती भइरहेको छ ।
गुरुङले गँड्यौला मलको उत्पादन गरेर बिक्री पनि गर्दै आएको बताउनुभयो । घरका पाँच जनासहित अन्य सात जना गरी फार्ममा १२ जनाले नियमित रोजगारी पाएका जनाउँदै उहाँले समयमयमा आवश्यकताअनुसार अरूलाई पनि रोजगारी दिँदै आएको बताउनुभयो । फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट हालै तालिम सञ्चालन गर्ने भवन निर्माण प्रयोजनका लागि रु सात लाख ५० हजार अनुदान सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
केही गर्छु भन्ने सोंचका साथ आउने फार्म तथा कृषकलाई परियोजनाका तर्फबाट विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिँदै आइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । परियोजनाबाट माया इको भिलेज एकीकृत फार्मलाई समयमयमा विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिएको बताउँदै उहाँले उक्त फार्म कृषिको सिकाइका लागि महत्त्वपूर्ण पाठशालाका रूपमा स्थापित हुँदै गएको बताउनुभयो ।
सञ्चालक गुरुङका अनुसार फार्ममा हेर्न र बुझ्न आउने व्यक्तिलाई प्रवेश शुल्क रु १०० निर्धारण गरिएको छ । फार्ममा राति सुत्न सक्ने गरी आवासीय व्यवस्था नरहे पनि दिउँसो भने आवश्यकताअनुसारको खाजा तथा खाना खुवाउने व्यवस्था मिलाइएको उहाँले जनाकारी दिनुभयो ।
पछिल्ला समयमा पोखरा बजारबाट दिउँसो आएर फार्म अवलोकन गरी खाजा तथा खाना खाएर जानेक्रम बढिरहेको बताउँदै गुरुङले फार्मले खाजा खानासहित अवलोकन गराउने गरी रु दुई हजारको ‘प्याकेज’ निर्धारण गरेको जानकारी दिनुभयो ।
फार्मभित्र विभिन्न प्रजातिका फलफूल तथा तरकारीसँगै भैँसीपालन, बाख्रापालन, लोकल कुखुरापालनलगायत कृषिसम्बन्धी गतिविधि अवलोकन गर्न सकिन्छ । “त्यस्तै विभिन्न ११ वटा टनेल निर्माण भएका छन् । जसमध्ये तीन वटा टनेल च्याउखेतीका लागि छन् भने बाँकीमा तरकारीखेती गरिएको छ”, गुरुङले भन्नुभयो । फार्ममा आइसकेपछि कृषिका विविध पक्षलाई बुझेर सहभागी हरेकले यसलाई आफू स्वयंले व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन भन्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।
एक जना कृषकले अर्को कृषकसँगको अनुभव साटासाट गर्नाले धेरै ज्ञान तथा सीप प्राप्त हुने बताउँदै गुरुङले त्यो संस्कार वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । प्राङ्गारिक खेतीले माटोको उर्वराशक्ति पनि राम्रो बनाउने र त्यसबाट उत्पादित वस्तु पनि स्वास्थ्यकर हुने भएकाले यसतर्फ सबै लाग्नु अपरिहार्य भएको उहाँको भनाइ छ । व्यावसायिक तरकारीखेतीसँगै पशुपालनलाई पनि समेटिएर एकीकृत कृषि गर्न सकिएमा उत्पादन पनि राम्रो लिन सकिने र त्यसरी उत्पादित वस्तु खाँदा मानवीय स्वास्थ्यमा पनि नबिग्रने उहाँको अनुभव छ ।
प्रशस्त उत्पादनसँगै यसबाट भरपुर उपयोग लिनका लागि एकीकृत कृषि आवश्यक रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत माधव लम्सालले बताउनुभयो ।
“पशुपालन र तरकारीखेती सँगसँगै गर्न सकिएमा शुद्ध प्राङ्गारिक उत्पादन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “प्राङ्गारिक मलको प्रयोग गरी गरिएका उत्पादनले मानवीय स्वास्थ्यमा पनि नकारात्मक असर गर्दैन ।” एकीकृत कृषितर्फ आकर्षण बढाउँदै जानुपर्नेमा जोड दिँदै उहाँले माया इको भिलेज फार्म यसको उदाहरण बनेको धारणा राख्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्