मधेसका सुख्खा प्रभावित क्षेत्रमा राहत प्याकेज तयारी भइसकेको छ : प्रधानमन्त्री

बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धन २०८४ सालसम्म कायम रहने स्पष्ट पार्नुभएको छ।
बारा जिल्लाको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गर्नुभयो। उहाँले गठबन्धन नपचाएका केही व्यक्ति र दलहरूले विकासको मार्गमा अवरोध गरिरहेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले गठबन्धन सरकार राष्ट्रिय आवश्यकताको उपज भएको बताउँदै स्थिरता, पूर्वाधार र नागरिकलाई अनुभव हुनेगरी काम भइरहेको उल्लेख गर्नुभयो।
हुलाकी राजमार्गको तीव्र निर्माण, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सरकारले प्रगति गरेको भन्दै उहाँले मधेसका सुख्खा प्रभावित क्षेत्रमा राहत प्याकेज तयारी भइसकेको जानकारी दिनुभयो।
सरकारले चौतर्फी रूपमा पूर्वाधार, बाटोघाटो, विद्युतीकरण, कृषि पूर्वाधार, सिँचाई, खानेपानी, शिक्षा स्वास्थ्यको क्षेत्रमा सरकारले फड्को मारेको बताउनुभयो ।

तराई–मधेस जोडने गरी हुलाकी राजमार्ग मेचीदेखि महाकालीसम्म निर्माण गराएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यो राजमार्गलाई अझै द्रुत रूपमा अगाडी बनाउने अभियानमा सरकार लागिरहेको बताउनुभयो ।
सुनकोसी–मरिन डाइभर्सनले पाँच जिल्लाका करिब १ लाख ८५ हजार बिगाहा भूमि सिँचाइ हुने र किसानहरूले ४ देखि ६ बाली उत्पादन गर्न सक्ने विश्वास व्यक्त गर्दै ओलीले सुनकोसी–लहान र सुनकोसी–कमला सिँचाइ आयोजना पनि अघि बढाउने बताउनुभयो।
बारा जिल्लालाई माछा सुपरजोन घोषणा गरिएको स्मरण गर्दै उहाँले माछा उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने धारणा राख्नुभयो। चुरे क्षेत्रको संरक्षण र तालतलैया निर्माणमार्फत मधेसमा पानीको अभाव हटाउनेतर्फ सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री ओलीले मधेस प्रदेशको अधिकांश जिल्लाहरूमा हवाई मार्गबाट आज सुख्खा ग्रस्त क्षेत्रको अवलोकन समेत गर्नुभएको थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारी, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतले मन्तव्य राख्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्