संस्कृति संरक्षणमा भोजपुरका युवाको सक्रियता
भोजपुर । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाचसहित मौलिक परम्परालाई निरन्तरता दिइने भएको छ । रीतिरिवाज, भेष भूषा र संस्कृति जोगाउन यहाँको युवाको सक्रियता बढ्दै गएको हो ।
नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा परम्परागत संस्कार जोगाउने अभियान सुरु गरिएको स्थानीय युवा नवीन बुढाथोकीले बताउनुभयो । नाग पञ्चमीका दिनदेखि सुरु हुने लाखे नाचलाई जिल्लामा व्यवस्थित बनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकामा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितामा जोड दिँदै यसको विस्तार गर्न थालिएको बुढाथोकीले बताउनुभयो
प्रत्येक वर्ष निकालिने लाखे नाचको तयारीमा आफूहरू जुटेको बताउँदै युवा विकल श्रेष्ठले भन्नुभयो, “विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिने काम युवाले गर्नुपर्छ, यसले पुस्तान्तरण हुनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धनमानसमेत टेवा दिन्छ ।” उहाँका अनुसार केही ठाउँमा गठे मङ्गलदेखि लाखे नाच सुरु हुने भए पनि भोजपुरमा नाग पञ्चमीदेखि नचाउने प्रचलन छ ।
स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएका संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न थालिएको स्थानीय अगुवा किशोर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार परम्परा र संस्कृति जगेर्नामा भूमिका निर्वाह गर्नुभएका अगुवालाई यस वर्ष सम्मानको समेत कार्यक्रम राखिएको छ ।
जिल्लाका स्थानीय मठमन्दिरमा नाग पञ्चमीका दिन पूजा अर्चना गरिएसँगै लाखे नाच शुभारम्भ हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लाखे नाचमा विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्य व्यङ्ग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहँदै आएको छ ।
परम्परादेखि चल्दै आएको संस्कृतिको जगेर्ना गर्नका लागि युवालाई प्रशिक्षणसमेत गर्ने गरिएको छ । बाजाको ताल, गीतको सुर, नृत्य ताललगायत विषयमा युवालाई प्रशिक्षण दिने गरिएको स्थानीय बताउँछन् । नेपाली कला, संस्कृति, परम्पराको संरक्षण गर्दै लाखे नाच प्रवर्द्धनमा सबै जुट्नुपर्ने स्थानीयको माग छ ।
जिल्लाको भोजपुर नगरपालिकाभित्र बजारका साथै पानी ट्याङ्की, टक्सार, डाँडा गाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखे नाच नचाउने गरिन्छ । जिल्लाको पूर्वी अरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका विभिन्न वडामासमेत लाखे नाच नचाउने परम्परा रहँदै आएको छ ।
नाग पञ्चमीका दिनदेखि सुरु हुने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंसलाई नाश गरेको दिनसम्म नचाउने प्रचलन रहँदै आएको स्थानीय नवीन प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार परम्परा बोकेको लाखे नाच नयाँ पुस्तालाई हस्तान्तरण गर्न युवाले ‘भोजपुर लाखे समाज’ बनाएर अग्रसरता लिएका छन् ।





प्रतिक्रिया राख्नुहोस्