तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै चौरीखर्क

रुकुम पश्चिम । रुकुम पूर्वको भूमे गाउँपालिका–१ मा अवस्थित चौरीखर्क आन्तरिक पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकसित हुँदै गएको छ ।

समुद्री सतहदेखि करिब ४,००० मिटर उचाइमा रहेको चौरीखर्कमा पछिल्लो समय दैनिक ५०० देखि १,००० जना आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अघिल्ला वर्षहरूमा थोरै मात्र पर्यटक पुग्ने यो क्षेत्र अहिले हजारौंको आकर्षण बन्दै गएको छ ।

बुकीफूलको रंगीन फुल, हरियाली पाटन, भेडाबाख्राको चरिचरन, गोठालाको चहलपहल र हिमाली दृश्यावलोकन गर्न यहाँ पर्यटक आकर्षित हुने गरेका छन् ।

मध्यपहाडी लोकमार्गबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने चौरीखर्कसम्म पुग्ने गोरेटो बाटो सहज भएपछि यस वर्ष पर्यटकको आवागमन बढेको हो ।

स्थानिय व्यवसायी मोहविर खड्काका अनुसार छोटो ट्रेकिङको अनुभव लिन चाहनेका लागि चौरीखर्क उपयुक्त गन्तव्य बन्दै गएको छ । विशेषगरी शनिबार र विदाको दिनमा यहाँ पर्यटक पुग्ने, टेन्टमा रात बिताउने, नाचगान तथा खानपानमा रमाउने गरेका छन् ।

चौरीखर्कबाट हिमाल, अग्ला पहाड, सुन्दर लेकाली पाटन र ढोरपाटन सिकार आरक्षको दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

गाउँपालिका अध्यक्ष होमबहादुर श्रेष्ठले चौरीखर्कको पर्यटन प्रवर्द्धनका लागि गोरेटो बाटोसहित अन्य पूर्वाधार निर्माणमा लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सरसफाइ लगायतका क्षेत्रमा पनि थप ध्यान दिइनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button