बर्दघाटमा पहिलोपटक समावेशी शिक्षा सुरु
नवलपरासी,पश्चिम।सबैका लागि शिक्षा भन्ने उद्देश्यले बर्दघाट नगरपालिका वडा नं. १ मा रहेको वाल्मीकि मा.बि.ले नगरमा नै पहिलो पटक समावेशी शिक्षा सुरु गरेको छ । अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहयात्री नेपालसँगको समन्वयमा समावेशी शिक्षा सुरु गरिएको विद्यालयकी प्रधानाध्यापक रामकुमारी पाध्यायले बताउनु भयो ।
सहयात्री नेपाल,बर्दघाट–१४ मा रहेका १० जना र अन्य १७ जना गरी २७ जना अपाङ्गता भएका बालबालिकालाई सहजरुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि फाउन्डेसन अड्रे ज्याकब र सामा नामक संस्थाले सहयोग गर्ने गरी वाल्मीकि मा.बि.मा पहिलो पटक समावेशी शिक्षा सुरु गरिएको हो ।
शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता,श्रवणशक्ती नभएका र दृष्टिविहीन, स्वर बोलाइसम्बन्धी अपाङ्गता, मानसिक अपाङ्गता, बहु अपाङ्गता भएकाहरूका लागि तालिम प्राप्त शिक्षक र बालबालिकाहरूका लागि छुट्टै कक्षा कोठाको व्यवस्था गरेसँगै एक कार्यक्रमका बिच समावेशी शिक्षाको समुद्घाटन गरिएको प्र.अ. पाध्यायको भनाई रहेको छ ।
वाल्मीकि मा.बि. व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समावेशी शिक्षा समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरका सबै प्रकृतिका बालबालिकाहरू शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्य सहित नगर अघि बढेको बताउनु भयो ।सबै कुरा स्थानीय सरकारले मात्रै गर्छ भन्ने भन्दा पनि सबैको हातेमालो बाट नै सकारात्मक कामको सुरुवात हुने र त्यसले नतिजा पनि सकारात्मक दिने नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
अपाङ्गता भएका बालबालिकाहरूको लागि नगरले भौतिक संरचना सहितको लगानी गरेर सहयात्री नेपालसँग सहकार्य गर्दै अघि बढेको बताउनु भयो । त्यसै गरी सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले अपाङ्गता भएका बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउने कार्यमा सहयात्री नेपालले राम्रो काम गरेको बताउनु भएको थियो ।संस्थाकी अध्यक्ष तिल कुमारी श्रेष्ठले संस्थाको मर्म र उद्देश्य अनुरूप स्थानीय तहहरूले अपनत्व लिन सके थप प्रभावकारी हुने र कोही पनि शिक्षा बाट वञ्चित हुनु नपर्ने बताउनु भयो।
प्रतिक्रिया राख्नुहोस्