बैतडी जीप दुर्घटनामा दुईको मृत्यु, ६ घाइते
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुप प्र ०४ ००१ ज १३७२ नम्बरको जीप पाटन–६ स्थित खिपालीमा शनिबार बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो। दुर्घटनामा डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
दुर्घटनामा परी डिलासैनी–१ का ४५ वर्षीय राम कुमार राना, २१ वर्षीया भागरती खत्री, उहाँकी २ वर्षीया छोरी एलिसा, २१ वर्षीय हेमन्त प्रसाद भट्ट, २७ वर्षीय राजेन्द्र बहादुर खत्री र ५१ वर्षीया कलमा धामी घाइते हुनुभएकाे छ।
प्रहरीका अनुसार राजेन्द्र र खत्रीलाई थप उपचारका लागि धनगढी पठाइएको छ।
इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयवासीले तत्कालै उद्धार गरेका थिए। जीप सडकबाट करिब १०० मिटर तल खसेर भीरमा अडिएको थियो। दुर्घटनाको कारण खुल्न बाँकी छ।
प्रतिक्रिया राख्नुहोस्