आर्थिक वर्ष २०८२।०८३ को बजेट छानविन गर्न संसदीय समिति

जनकपुरधाम । चार दिनको अवरोध पछि मधेश प्रदेश सरकारमा रहेका सत्तारुढ दल तथा विपक्षी दलहरूका बीचमा बजेट सम्बन्धमा छानविन गर्नका लागि कार्यदल बनाउने सहमति भएपछि बैठक सुचारु भएको छ ।
मधेश प्रदेश सरकारमा रहेका घटक तथा विपक्षी दलका बीचमा भएको सहमतिपछि आज दिउँसो अढाई बजेपछि बैठक शुरु भएको हो । बैठकलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटमा उठेको गुनासोको सम्बोधनका लागि कार्यदल बनाउने सहमति अनुसार ६ सदस्यीय संसदीय छानविन समिति बनाउने बताउनु भयो ।
उहाँले यसका लागि सभामुख रामचन्द्र मण्डललाई संसदीय छानविन समितिको नाउँ प्रस्ताव गर्नका लागि आग्रह गर्नु भएको थियो । मुख्यमन्त्रीको आग्रह पछि मधेश प्रदेशका सभामुख मण्डलले सर्वदलीय सहमति अनुसार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय संसदीय समिति गठन गरेको घोषणा गर्नु भयो ।
उक्त संसदीय समितिका सदस्यहरूमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादव, नेकपा माओवादी केन्द्रका जवाहर कुशवाहा, नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव, नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव र नेकपा एकीकृत समाजवादीका पार्टीका कनिष पट्टेल रहनु भएको जानकारी सभामुखले प्रदेश सभामा गराउनु भएको हो ।
यसैबीच संसदीय छानविन समितिमा मन्त्रीको नाम समावेश गरेकोमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले आपत्ति जनाएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गर्नु भएको छ । मन्त्रीको नाउँको विषयमा अहिले सभामुख मण्डलको अगुवाईमा सर्वदलीय बैठक प्रदेश सभा सचिवालयमा जारी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्