बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी सम्बन्धी विधेयक नेपालको आर्थिक भविष्य र अनुशासन कायम गर्ने विषयसँग जोडिएको बताउनुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलपछि गभर्नर डा. पौडेलले व्यक्तिको सम्पत्तिको सुरक्षा गर्ने र संस्थागत अनुशासन कायम गर्ने विषयलाई विधेयकले सुनिश्चित गर्ने बताउनुभयो ।

गभर्नर डा. पौडेलले बैङ्कमा रहेको ७० खर्ब रुपैयाँलाई समग्र अर्थतन्त्रको स्रोत मान्नुपर्ने भन्दै राम्रो व्यावसायिक सोच र उद्यमशीलता भएका जोकोहीले यो स्रोतमाथि दाबी गर्ने र ऋण लिन पाउने अधिकार रहनुपर्ने बताउनुभयो ।
गभर्नर पौडेलले बाफियामा प्रस्तावित व्यवस्थाहरू नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता र बैङ्किङ नियमन सम्बन्धी विश्वव्यापी मापदण्ड लगायतका विषयसँग सामन्जस्यता कायम गर्न ल्याइएको पनि स्पष्ट पार्नुभयो ।
बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गरिरहेको समितिले विधेयक सम्बन्धमा व्यवसायी, बैंकर र विज्ञलगायतसँग बृहत् छलफल गरिसकेको छ ।

यसैबीच, बैठकमा समितिका सभापति सन्तोष चालिसेले नेपालको मौद्रिक नीति, भारतबाट नेपाल आउन चाहने व्यक्तिले नेपालमा निश्चित रकम मात्रै ल्याउन पाउने व्यवस्था, सुधारका लागि भइरहेको पहल लगायतका विषयमा अर्थमन्त्री र गभर्नरसँग छलफल गर्ने जानकारी गराउनुभयो ।
बैठकमा सभापति चालिसे सांसदहरु ज्ञानबहादुर शाही र सूर्य बहादुर थापा क्षेत्रीले भारतबाट नेपालमा धेरै रकम मात्रै ल्याउन नपाउने गरी भइरहेको व्यवस्थाले नेपालको पर्यटन, होटल लगायतका व्यवसायमा नकारात्मक प्रभाव परिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्