तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला आयोगबाट पीडितलाई संरक्षण तथा सेवा

काठमाडौँ । राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले बजेट अभाव र प्रमुख निकायहरूमा महिला नेतृत्वको कमीका कारण महिला आयोगका उद्देश्यहरू पूरा गर्न चुनौती थपिएको बताउनुभएको छ । 

राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन भएका कार्यक्रमहरूबारे जानकारी दिन आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सदस्य खतिवडाले सातै प्रदेशमा पीडित महिलालाई राहत दिइए तापनि बजेट अभावका कारण सेवा प्रवाहमा समस्या थपिएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सचिव रेखा कँडेलले महिला हिंसा र सचेतना अभिवृद्धिमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनु हुँदै आयोगले महिला हिंसा न्यूनीकरण, महिला हेल्प लाइन सेवाको स्तरोन्नति, लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन, कुप्रथा अन्त्य तथा अपाङ्गमैत्री नीति तयार भएको जानकारी दिनुभयो । 

आयोगकी मन परामर्शदाता तुलसा कटवालका अनुसार २०८१ साउनदेखि २०८२ जेठसम्म एक हजार १२ जना पीडित महिलालाई कानुनी परामर्श, दुई सय २९ लाई मनोसामाजिक परामर्श र उजुरी दर्ता भएको एक हजार ७० जनालाई सेवा प्रदान गरी त्यस मध्य छ सय ३६ पीडित महिलालाई सम्बन्धित निकायमा सिफारिस गरिएको जानकारी दिनुभयो ।

अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिद प्रसाद बागचन्दले आयोगले सातै प्रदेशका ग्रामीण क्षेत्रमा समेत पीडित महिलालाई न्यायको पहुँचमा पुर्‍याउन आग्रह गर्दै त्यस कार्यमा मिडियाले सहयोग बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरूले महिला आयोगको कार्यक्रम प्रभावकारी रहे पनि उपलब्धि र सूचना प्रवाह प्रभावकारी रूपमा नदेखिएकोले पीडित महिलासम्म पुग्न आयोगले डिजिटलाइजेसनमा जोड दिनुपर्ने सुझाव राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button