तपाईँ सुन्दै हुनुहुन्छः

संघीय निजामती विधेयक राष्ट्रिय सभामा टेबुल 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० टेबुल भएको छ ।

बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले संघीय निजामती सेवा विधेयक २०८० टेबुल गर्नुभएको हो । यसअघि बैठकको शुुन्य समयमा राष्ट्रिय सभाका सांसदहरुले प्रतिनिधि सभाबाट पारित भएर आएको संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ पिरियडमा बाहेक शब्द घुसाएर निस्तेज पार्न खोजिएको बताउनुभयो । 

सांसदहरुले निजामती विधेयकमा दुई वर्षे कुलिङ पिरियडलाई प्रभाव पार्ने गरी आएको शब्द र विषयमा संसदीय  समिति बनाएर छानविन गरि सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो ।

सांसदहरुले सबै कर्मचारीको मनोबल उच्च राख्नेगरी कानुन बनाउनु पर्ने र स्थानीय तहका कर्मचारीको पनि सङ्घमा जस्तै सरुवाको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसदहरुले प्रतिनिधि सभाबाट पारित भएर आएको संघीय निजामती विधेयकमा देखिएका त्रुटिहरू सच्याइनु पर्नेमा जोड समेत दिनुभयो ।

बैठकमा, सांसदहरुले  पूर्वाधार विकास, काठमाडौँको ट्रमा सेन्टरमा बेड अनुसार पर्याप्त आइसियु सेवाको विस्तार गर्न र एमआरई सेवाको व्यवस्था गर्न माग गर्नुभयो ।  

बैठकमा सासंदहरु कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, रुक्मिणी कोइराला, रेणु चन्द, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, कृष्णप्रसाद अधिकारी, सावित्री मल्लले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनु भएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button