रेडियोकर्मी बराल सहित १० जना खेल पत्रकारलाई राष्ट्रिय सम्मान तथा प्रोत्साहन पुरस्कार

पोखरा । गण्डकी प्रदेशका खेल पत्रकार रेडियो नेपालका कास्की संवाददाता दिननाथ बराल सहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबार काठमाडौँमा सोमबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा देश भरका पत्रकारलाई सम्मान तथा पुरस्कार अर्पण गरेको हो ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सम्मान पत्रको साथमा खादा तथा अबिर लगाएर उक्त सम्मान तथा पुरस्कार अर्पण गर्नु भएको हो । अनुभव प्राप्त सम्मानमा ५० हजार अन्य प्रोत्साहन पुरस्कारमा भने जनही २५ हजार नगद समेत रहेको शाखा अधिकृत प्रमिला खरेलले बताउनु भयो । खेल क्षेत्रको प्रमोसन गर्नको लागि मन्त्रालयले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेको मन्त्री चौधरीले बताउनु भयो । पत्रकारले सकारात्मक तथा राम्रो गर्नको लागि आलोचनात्मक ढंगले लेखिएका समाचारको समेत आफूहरूले मूल्याङ्कन गरिएको मन्त्रालयका प्रवक्ता सुवासचन्द्र शिवाकोटीले बताउनु भयो ।
आर्थिक वर्ष २०८१/८२ का लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरेर निष्पक्ष ढंगले सम्मान तथा पुरस्कार छनौटको लागि सिफारिस गरिएको छनौट समितिका कुशराज दाहालले बताउनु भयो । ३८ वटा निवेदनका आधारमा छनौट भएको शान्ति बहादुर बस्नेतले उल्लेख गर्नुभयो । आफूहरूले कुनै प्रभाव र दबाब रहित सम्मान तथा पुरस्कारका लागि छनौट गरिएको उहाँहरूको दाबी थियो ।
बराल पोखरामा केन्द्रित रही विगत २३ वर्षदेखि निरन्तर खेलकुद पत्रकारितामा क्रियाशील छन् । उनी रेडियो नेपाल, कारोबार दैनिक, पोखरा क्लिक, पोखरापत्र जस्ता सञ्चारमाध्यमसँग आबद्ध छन्। ८ देशमा भ्रमण गरेका बराल हिमाल खबर पत्रिका, रेडियो अन्नपूर्ण, आर्थिक अभियान, हटलाइन दैनिक, जनमत दैनिक, रेडियो तनहुँ, रेडियो स्याङजा, प्राप्ति त्रैमासिक, ग्लासिफाइड साप्ताहिक, फेवा टेलिभिजन, पोखरा न्यूज डटकम, वर्तमान सहकारी आवाज लगायतका सञ्चार माध्यममा काम गरेका थिए ।

पत्रकार बराल अमेरिकी दूतावास र शेयरकास्टको फेलोसिप रिपोटिङमा गण्डकी प्रदेशमा ७ जना भित्र छनौट (२०७६) भई नगद ३० हजार नगद प्राप्त, सहारा खेलकुद पत्रकार पुरस्कार २०६८, साविक जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकार सम्मान, जिल्ला खेलकुद विकास समितिबाट उत्कृष्ट पत्रकार पुरस्कार, सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान, रेडियो अन्नपूर्णको बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार (२०७२), नेपाल पत्रकार महासङ्घ कास्कीबाट २०७९ मा आर्थिक पत्रकारिता पुरस्कार ( नगद २०,०००) , शुभम सहकारी पत्रकारिता सम्मान (२०७६), रत्न ज्योति माविबाट बाल प्रतिभा सम्मान, लायन्स क्लब पोखरा सेती गण्डकी उत्कृष्ट पत्रकार सम्मान (२०७४) लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
खेलकुद पत्रकारितामा लामो अनुभव र योगदानका आधारमा उनलाई यसपटकको सम्मानका लागि मन्त्रालयले छनौट सहित सम्मान गरेको हो । मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१ को आधारमा मूल्याङ्कन गरी देश भरका पत्रकारहरूलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
पुरस्कार प्राप्त गर्ने पत्रकारहरूमा मुकुन्द घिमिरे (इलाम), सरदचन्द्र भट्टराई (बारा), विक्रमकुमार बानिया (मकवानपुर), दिननाथ बराल (पोखरा), स्वस्तिक श्रेष्ठ (बुटवल), दिनेश कुमार बुढा (दैलेख), दिनेश बहादुर विष्ट (बैतडी), नमिता दाहाल (तनहुँ), रुपा गहतराज (बाँके) र श्रीलोचन राजोपाध्याय (काठमाडौँ) हुनुहुन्छ ।
यसैबिच गण्डकी प्रदेशका खेल पत्रकार केशव पाठक, विजय नेपाली, दिपक परियार, विजय नेपाल, ऋखिराम जिसी, सुमन गुरुङ, रोहितराज पराजुली लगायतका उक्त पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।
उक्त अवसरमा खेल क्षेत्रका १० विधामा खेलाडी, प्रशिक्षक, स्वास्थ्यकर्मी सहितलाई समेत नगद सहित सम्मान गरिएको छ भने राष्ट्रिय खेलकुद नीति २०८२ को सार्वजनिकरण गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्