सर्वोच्चका न्यायाधीश र न्याय परिषद्का प्रस्तावित सदस्यको सुनुवाइ सकियो, निर्णय अर्को बैठकमा
काठमाडौँ। संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश र न्याय परिषद्का प्रस्तावित सदस्यको सुनुवाई सकेको छ ।

समितिले सर्वोच्च अदालतका प्रस्तावित मेघराज पोखरेल, न्यायाधीश श्रीकान्त पौडेल र शान्तिसिँह थापा तथा न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाई सकको हो ।
समितिले आज न्यायाधीशमा प्रस्तावित शान्तिसिँह थापा र न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालसँग सुनुवाई गरेको हो ।

सुनुवाईका क्रममा न्यायाधीश पदमा प्रस्तावित शान्ति सिंह थापाले शक्ति पृथकीकरणको सिद्धान्तका नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त आवश्यक पर्ने बताउनुभयो ।
बैठकमा आफ्नो कार्य योजना, सोच र अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालाई संविधानले नै सीमारेखा कोरिदिएकाले राज्यका यी अङ्गहरूले एकले अर्कालाई हस्तक्षेप गर्न नपाइने बताउनुभयो ।
यस्तै न्याय परिषद्का प्रस्तावित सदस्य पदमा नियुक्तिका लागि सिफारिस महेशकुमार नेपालले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढीकरणमा प्रयत्नशील रहने, आफूले गरेको कार्यमा जबाफदेही रहने, न्यायिक सुशासन र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिका लागि भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
समितिले सुनुवाई गरेपनि अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अर्को बैठकमा निर्णय लिने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो ।
समितिका सदस्यहरुले भने आजै अनुमोदन गर्ने भनिएपनि केही सैद्धान्तिक विषय उठेकाले होल्ड भएको बताउनुभयो ।
यसैगरी समितिले हिजो सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलसँग सुनुवाई गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्