तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित पोखरेल र पौडेलको संसदीय सुनुवाई सकियो

काठमाडौँ । संसदीय सुनुवाई समितिले आज सर्वोच्च अदालतका न्यायाधीश पदमामा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलसँग सुनुवाई गरेको छ  ।

सुनुवाईका क्रममा आफ्नो कार्य योजना, सोच र अवधारणा  पत्र प्रस्तुत गर्दै पोखरेलले न्यायलयलाई प्रविधिकरण र आधुनिकीकरण गराउन सकियो भने न्यायमा पहुँच बढाउन र छिटो न्याय सम्पादन गर्न सहज हुने बताउनुभयो ।

उहाँले छिटो मुद्दा फछ्र्यौट गर्नका लागि अतिरिक्त समयको व्यवस्थापन गर्ने, कार्य पद्धतिको आधुनिकीकरण गर्ने, इजलासको समयमा सुधार गर्ने र बारसँग मिलेर बहस व्यवस्थापन गर्ने लगायतका काम गरेर अगाडी बढ्न सकिने बताउनुभयो । 

न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता पोखरेलले नैतिक आचरण कायम गर्ने, स्वार्थको द्वन्द्व हुने विषयहरू नहेर्ने, आफ्नो पूर्व व्यवसाय छोडेर न्यायिक सम्पादनमा पारदर्शीता तथा जबाफदेहिता अवलम्बन गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यसैगरी सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले आफ्नो कार्य योजना, सोच र अवधारणा पत्र प्रस्तुत गर्दै नेपालको संविधान र आम नागरिकले सर्वोच्च अदालतबाट राखेको न्यायको अपेक्षा पुरा गर्ने र न्यायको अनुभूति हुनेगरी न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले न्यायिक निष्पक्षता, स्वतन्त्रता, स्वायत्तता, सक्षमता, निष्ठा, इमानदारिता जस्ता न्यायका अनिवार्य मूल्य, मान्यता र आदर्शभित्र रहेर न्याय सम्पादन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका उच्च अदालत दिपालयका मुख्य न्यायाधीश सान्तीसिंह थापा र न्यायपरिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालसँग भोली संसदीय सुनुवाई गर्ने भएको छ । 

यसअघि समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश र न्यायपरिषद्का प्रस्तावित सदस्यका विरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूसँग हिजो छलफल गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button