सासुको हत्या गर्ने ज्वाई २१ वर्षपछि पक्राउ

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले सासुको हत्या गर्ने ज्वाईलाई २१ वर्षपछि पक्राउ गरेको छ । २०६१ साल असार १९ गते पाल्पाको साबिक सिलुवा गाविस ९ हाल पूर्बखोला गाउँपालिका १ गुनडाँडामा ५५ वर्षीया सासु चिनीसरा सार्कीको हत्या गरि फरार रहेका सोही स्थानका ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई २१ वर्षपछि पाल्पा प्रहरीले पक्राउ गरेको हो ।
पूर्ण बहादुर भारतमा लुकिछिपी बसेको र नेपाल फर्किने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले आज बिहान करिब ४ बजेको समयमा बाँके जिल्ला नेपालगन्ज उप-महानगरपालिका १५ स्थित जमुनाह भन्सारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख पवन कुमार भट्टराई पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो ।
मृतको छोरीले दोस्रो बिहे गरि अन्यत्र गएपछि झगडा हुँदा पूर्ण बहादुरले कुटपिट गरि घाँटी थिचेर हत्या गरि भारत तर्फ भागी फरार रहेको प्रहरीले जनाएको छ ।
पूर्ण बहादुरलाई मुलुकी ऐन,२०२० को ज्यान सम्बन्धी महलको १ नम्बर बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(१) बमोजिम ५ दिन म्याद लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्