स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न सङ्कल्प प्रस्ताव पेश
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा खानेपानी सेवालाई नागरिकको पहुँचमा वृद्धि गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ ।
राष्ट्रिय सभामा यही ज्येष्ठ गते ६ दर्ता भएको खानेपानी सेवामा हरेक नागरिकको पहुँच अभिवृद्धि गर्न खानेपानी तथा सरसफाई संस्था वा समितिलाई सुविधा प्रदान गर्ने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुहुँदै सांसद जगप्रसाद शर्माले मौलिक हकको रुपमा रहेको स्वच्छ खानेपानीको सुविधालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
सांसद शर्माले खानेपानीको क्षेत्रमा काम गर्ने संघ, संस्था वा समितिहरूलाई कर छुट दिने, विद्युत् महसुलमा छुट दिने, नगर विकास कोषले दिने ऋणको व्याजमा छुट वा सहुलियत प्रदान गर्ने तथा खानेपानी सेवामा जनसहभागिता बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदका मौखिक प्रश्नहरूको जवाफ दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा बोलिने सबै भाषाको संरक्षण र विकासका लागि मन्त्रालयले सक्रियताका साथ काम भइरहेको बताउनुभयो ।
मन्त्री पाण्डेले पुरातात्त्विक तथा ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।
मन्त्री पाण्डेले पुरातात्त्विक, ऐतिहासिक वा सांस्कृतिक महत्वका स्थलहरूको संरक्षण र विकासमा स्थानीय तहलाई समेत सक्रिय बनाउनेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको पनि बताउनुभयो ।
यसअघि बैठकमा सांसदहरूले नेपाली युवालाई भारत पुर्याई बन्धक बनाउने व्यक्ति वा समूहको पहिचान गरी हदै सम्मको कारबाही गर्न, स्थानीय निकायहरूमा अविलम्ब प्रमुख प्रशासकीय अधिकृत पठाउने व्यवस्था मिलाउन र महिला स्वास्थ्य स्वयम सेविकाहरूको सेवा–सुविधा वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरूले पुराना सवारी धनीहरूका लागि सहुलियत कर्जा लगायतका सुविधा उपलब्ध गराई बढी प्रदूषण गर्ने यातायातका साधनहरू हटाउने व्यवस्था मिलाउन, कोरोना र डेंगी सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी पहल गर्न पनि माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्