हुलाक सेवा विश्वसनीय, भरपर्दो र द्रुत बनाउन सके राजस्व बढ्छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र द्रुत बनाउन सके राजस्व वृद्धिमा ठुलो टेवा पुग्ने बताउनुभएको छ ।

हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले हुलाकको कुरियर सेवा अझै प्रभावकारी बनाउन जोड दिनुभयो । उहाँका अनुसार सबै भन्दा पहिला आधुनिक हुलाक र स्मार्ट हुलाक बनाउन पुरानो ऐन फ्यालेर नयाँ ऐन बनाउनु पर्नेछ । यसको लागि मन्त्रालयले सक्रिय रुपमा लागेको पनि जानकारी दिनुभयो । मन्त्री गुरुङले आधुनिक हुलाकको रूप रेखास्वरूप हुलाक पोलिसिको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।
मन्त्री गुरुङले यसै वर्षभित्र स्थानीय तहमा भएका वडा स्तरका हुलाक कार्यालयमा एउटा वा दुई वटा मोटर बाइक साधन उपलब्ध गराउनुपर्ने बताउनुभयो । जनताको सेवासँग प्रत्यक्ष सरोकार राख्ने हुलाकमा सवारी साधन अनिवार्य हुनुपर्ने उहाँको धारणा छ । सबै हुलाक कार्यालय आइटी फ्रेन्डली हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आगामी आर्थिक वर्षमा बजेट पर्याप्त नभए पनि आवश्यकताका आधारमा बजेट थप गर्न र अन्य स्रोतहरू जुटाउन आफूले हरदम प्रयास गर्ने समेत मन्त्री गुरुङले प्रतिबद्धता दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालय हुलाक सेवाको वृद्धि र विकासका लागि सधैँ सकारात्मक रहेको बताउँदै हुलाकलाई इकर्मशमा जोड्ने प्रयत्न रहेको बताउनुभयो ।
विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवालाई जनताको घरदैलो सम्मै पुर्याउन स्थानीय तहसँग सहकार्य गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्