दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारको लक्ष्य, आधा पनि उठेन

काठमाडौँ । चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सङ्घीय सरकारको लक्ष्य रहे पनि हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हो । अर्कोतर्फ सरकारले चालु आवका लागि राखेको आन्तरिक ऋणको लक्ष्य भने शतप्रतिशत प्राप्ति हुने देखिएको छ ।
गत जेठ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ९५ दशमलव ४५ प्रतिशत आन्तरिक ऋण उठाइसकेको छ । चालु आवका लागि तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने भनिएकामा पछिल्लो ११ महिनामा तीन खर्ब १५ अर्ब हाराहारी उठिसकेको छ ।
सरकारले अधिकांश बाह्य ऋणलाई पुँजीगत शीर्षक अर्थात् विकास आयोजनामा खर्च हुने बजेट स्रोतका रूपमा देखाएको हुन्छ । अहिले विकास आयोजनाको काम सुस्त हुँदा र खर्च गर्न नसक्दा वैदेशिक ऋण प्राप्ति कमजोर देखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले बताउनुभयो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले हालसम्म तिर्न बाँकी कूल ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड पुगेको छ । चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा गत जेठ मसान्तसम्ममा दुई खर्ब २० अर्ब ५८ करोड सरकारी ऋण थपिएको हो । जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड र बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड बराबर छ ।
सरकारले चालु आवमा पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो ।
प्रतिक्रिया राख्नुहोस्