तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा: विनियोजन विधेयक माथिको छलफल जारी /रास्वपाको विरोध

काठमाडौँ । प्रतिनिधि सभामा आज पनि विनियोजन विधेयक माथिको छलफल जारी रहेको छ ।

छलफल अन्तर्गत आज युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल भइरहेको छ ।

यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको विभिन्न समितिमा सदस्यहरूको नाम हेरफेरको प्रस्तावलाई सहमति जनाएको छ ।

सभामुख देवराज घिमिरेले सांसद श्यामकुमार घिमिरे सार्वजनिक लेखा समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, सांसद चन्दा चौधरीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट सार्वजनिक लेखा समितिमा र सांसद शान्ति वि.क महिला तथा सामाजिक मामिला समितिबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति हेरफेर गर्नुभएका थियो । 

यसैबीच, प्रतिनिधि सभाको बैठकमा आजपनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै रास्वपाले रोस्टम घेराउसहित नाराबाजी गर्दै आएको छ । 

बैठकको सुरुमा रास्वपाका सांसद अशिम शाहले एक महिना देखी संसदमा विरोध जारी रहँदा समेत सरकार मूकदर्शक बनिरहेको भन्दै भिजिट भिसा काण्ड मानव तस्करी भएकाले यसको निष्पक्ष छानविन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल सम्शेर ज.व.राले प्रतिपक्षीका आवाजलाई सरकारले सुन्नुपर्ने र छानविन समिति बनाएर समस्या हल गर्नुपर्ने बताउनुभयो ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले संसद्को गतिविधिलाई सहज रुपमा अगाडी लैजान लामो समय देखी पहल गरेपनि विरोध जारी रहेको भए पनि विनियोजन विधेयक र आगामी आर्थिक वर्षको बजेट समयमा पास गर्नु पर्ने भएकाले सदन अगाडी बढाइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button