फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई

नेपालगञ्ज । नेपालगञ्जका फोटोग्राफर अमित रावलले चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ । रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरूको फोटोले इसेवा भोटिङमा सर्वाधिक ६ हजार ७ सय ७७ भोट प्राप्त गर्दै ५० हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कारसहित पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएको हो ।
अन्तरालको आयोजनामा भएको फेष्टिबलमा राष्ट्रिय फोटो प्रतिस्पर्धाबाट टप ३१ मा पर्न सफल फोटोहरू भोटिङका लागि इसेवामा राखिएका थिए । अर्वाड प्राप्त गरेपछि फोटोग्राफर रावलले पुरस्कारले फोटो खिच्न र संरक्षणको काममा आफूलाई अझै प्रोत्साहित गरेको बताए । पुरस्कारको केही राशि परोपकारी काममा लगाउने बताउँदै उहाँले भन्नुभयो, ‘कोहलपुरका मृगौला रोग पीडित फिरोज बक्सलाई यस पुरस्कारबाट १० हजार रुपैयाँ दिने उद्घोष गर्दछु ।’
फेष्टिबलको समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले यस्ता कार्यक्रमले युवाहरूलाई सृजनात्मक काममा व्यस्त बनाउने बताउनुभयो । स्वदेशमा सम्भावना नदेखेका युवाहरूका लागि यो कार्यक्रम प्रेरक हुन सक्ने उहाँको भनाई छ । यस्ता कार्यक्रममा सबैको साथ र सहयोगको खाँचो रहेको पुनले बताउनुभयो ।
यस्तै समापन कार्यक्रममा नेपालगञ्ज १८ का तिलक गाहा मगरले खिचेको तस्बिरले खेलकुद विधामा उत्कृष्ट हुँदै लुम्बिनी प्रदेश सभा सदस्य पुनबाट अवार्ड र पुरस्कार राशि प्राप्त गरेको छ । कृषि विधामा बबी साई, संस्कृति विधामा सञ्जय महर्जन, दैनिक जीवन विधामा विजय थापा, प्रकृति र संरक्षण विधामा रोमिन थारु, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम विधामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएका छन् । विधागत उत्कृष्ट तस्बिरको पुरस्कार राशि ५र५ हजार रुपैयाँ रहेको थियो ।
प्रतियोगितामा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिर फोटो अफ द इयर भएको छ । उक्त तस्बिरले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । धिमाल कार्यक्रममा पुग्न नसकेकाले पुरस्कार उहाँसम्म पुर्याउने व्यवस्था मिलाइने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।
समापन कार्यक्रममा पर्यटन कार्यालय कोहलपुरका प्रमुख टंकनाथ खनाल, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, पिजे क्लबका पूर्व अध्यक्ष एवम् प्रतियोगिताका निर्णायक विकास कार्की लगायतको सहभागिता रहेको थियो । यसैगरी अन्तरालको आयोजनामा सञ्चालन भएको दुई दिने फोटोग्राफी तालिम पनि समापन गरिएको छ । तालिममा सहभागी ३९ जनालाई समापन कार्यक्रममा प्रमाणपत्र पनि वितरण गरिएको छ ।
प्रतिस्पर्धामा छानिएका १ सय ११ फोटोहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगञ्ज, सङ्घीय राजधानी काठमाण्डौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने आयोजकले छ । यी फोटोहरू अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिनेछ ।
वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरू छनौट गरेको थियो । फेष्टिवलको पहिलो संस्करणमा रुकुमका मैत्या घर्ती मगर, दोस्रो संस्करणमा नेपालगञ्जकी पत्रकार निशु जोशी र तेस्रो संस्करणमा मुगुका पत्रकार राज बहादुर शाहीले उपाधि जित्नुभएको थियो ।
नेपाल पर्यटन बोर्ड प्रवद्र्धक, पर्यटन डिभिजन कार्यालय, कोहलपुरको सहकार्यमा आयोजना गरिएको चौथो नेपालगञ्ज फोटो फेस्टिबललाई नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका लगायतको सहयोग रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्