तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशस्तरीय क्रिकेट: घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा आज सम्पन्न खेलमा कास्की र पर्वत विजयी भएका छन् । 

प्रतियोगिताको समूह ‘बी’ रहेका कास्कीले यससँगै लगातार दोस्रो जित निकाल्दा पर्वत पहिलो पटक विजयी भएको छ । कास्कीले गोरखालाई १० विकेटको सानदार जित निकाल्दा पर्वतले नवलपुरलाई १५ रनले हराएका हो ।

यससँगै कास्की दुई खेलमा दुई खेल नै जित्दै चार अङ्कका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक÷एक खेल जित्दै समान दुई दुई अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतियोगिताको लिग चरणको बिहीबारको खेलले फाइनलमा पुग्ने टिमको टुङ्गो लाग्नेछ । पहिलो खेलमा गोरखा र पर्वत तथा दोस्रो खेल कास्की र नवलपुरकाबीच हुने आयोजक प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

आजको पहिलो खेलमा पर्वतले टस जितेर पहिले ब्याटिङ सुरु गरेकामा निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३१ रन बनायो ।

टोलीका लागि अभिषेक थापाले ४० बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५२ रन बनाए । अभिराज पटेलले २९ बलमा ३७ रन र बिनोद नेपालीले १० बलमा १४ रनको योगदान दिए । नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान दुई दुई विकेट लिएका थिए ।

खेलमा जितका लागि १३२ रनको लक्ष्य पछ्याएको नवलपुर १८ ओभरको पाँचौँ बलमा ११६ रन मात्र बनाउन सक्यो । गौरव विष्टले २५, स्वीकार श्रेष्ठले १८ र विगत पाण्डेले १७ रन बनाए । पर्वतका कप्तान अमृत गुरुङले चार विकेट लिए । 

यसैगरी दोस्रो खेलमा कास्कीले गोरखालाई १० विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ । टस जितेर गोरखाले पहिला ब्याटिङ गर्ने निर्णय लियो । टोलीले १९ ओभरको पाँचौँ बलमा सबै विकेट गुमाउँदै जम्मा ९० रन मात्र बनाउन सक्यो । गोरखाका लागि स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन बनाए भने मेहुल श्रेष्ठले ४५ बलमा १८ रन जोडे । कास्कीका सुवास भण्डारीले सर्वाधिक तीन विकेट लिए ।

खेलमा जितका लागि ९१ रनको सामान्य लक्ष्य पाएको कास्कीले आठ ओभरको चौथो बलमा कुनै पनि क्षति बिना लक्ष्य भेट्टायो । अनिल गुरुङले २७ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै अविजित ५१ रन बनाउँदै म्याच जिताए भने अर्का ओपनर अर्जुन कुमालले पनि २५ बलमा ३९ रन बनाए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा यही जेठ ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकीका आठ जिल्लाले प्रतिस्पर्धा गरेका छन् ।

च्याम्पियन टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button