अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण: इलाममा ७२ जनाले पाए प्रमाणपत्र
इलाम । इलामको रोङ गाउँपालिका–१ शान्तिपुरका ७२ जना अव्यवस्थित बसोबासीलाई मंगलबार जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ।

भूमि समस्या समाधान आयोग इलामका अध्यक्ष प्रकाश अधिकारीका अनुसार रोङ गाउँपालिकासँगको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो। आयोगका केन्द्रीय अध्यक्ष हरीप्रसाद रिजालले लाभग्राही दिलबहादुर सुब्बालाई लालपुर्जा हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा आयोगका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, स्थानीय जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो।
रोङ गाउँपालिकामा २१२ जनाले लालपुर्जाका लागि निवेदन दिएका थिए। तीमध्ये १५० जनाको निवेदन स्वीकृत भइसकेको छ। बाँकी ७८ जनालाई प्रक्रिया पुरा गरी क्रमिक रूपमा वितरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिए।
उनका अनुसार असार मसान्तसम्म इलाम जिल्लामा करिब ७०० जनालाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ।
रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले स्थानीय सरकार, कर्मचारी र राजनीतिक दलहरूको सहकार्यमा काम तीव्र रूपमा अगाडि बढिरहेको बताए। उनले अघिल्लो आयोग विघटन नभएको भए अझ छिटो काम सकिने बताएका छन्।
पहिलो चरणमा रोङसँगै माङसेबुङ, चुलाचुली, सूर्योदय र माई नगरपालिकामा पनि काम अघि बढिरहेको आयोगले जनाएको छ।
अहिलेसम्म जिल्लामा २२ हजार २४० जनाले लालपुर्जाका लागि निवेदन दिएका छन्। जसमध्ये २१० जना भूमिहीन दलित, ९१० जना भूमिहीन सुकुम्बासी र २१ हजार १३० जना अव्यवस्थित बसोबासी रहेका छन्।
प्रतिक्रिया राख्नुहोस्