तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व उद्योग मन्त्री ढुण्डिराज शास्त्रीको निधन

अर्घाखाँची । पूर्व उद्योग मन्त्री तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधन भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वमन्त्री स्व. ढुण्डीराज शास्त्री ।

काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान ४ः०० बजे ९० वर्षको उमेरमा निधन भएको हो ।

अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा विसं १९९३ सालमा जन्म भएको थियो । समाजवादी चिन्तक शास्त्रीका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । एक श्रीमतीको भने निधन भइसकेको छ । उहाँका छोराहरू देश बाहिर रहेकाले उहाँहरू आएपछि दाहसंस्कार गरिने उहाँका पारिवारिक सदस्य अशोक पौडेलले जानकारी दिनुभएको छ । 

शास्त्री विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दा नेपाली कांग्रेसको राजनीतिमा जोडिनुभएको थियो । उहाँले पढाइ पूरा भएपछि पार्टीका तर्फबाट भूमिगत राजनीति गर्नुभयो । विसं २०१४ मा नेपाली काँग्रेसले सुरु गरिको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै उहाँले पाल्पाको तानसेनमा भाग लिनुभएको थियो । विसं २०१५ को आम निर्वाचनमा सक्रिय रूपमा लाग्नुभएका उहाँ विसं २०१७ पुस १ गते राजा महेन्द्रले संसद् भङ्ग गरी नेताहरूलाई जेल हालेको समयमा गुल्मी र अर्घाखाँचीका युवालाई क्रान्तिमा संलग्न गराउने कार्यमा  महत्पूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०१७ सालपछि उहाँ भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । शास्त्रीले तत्कालीन समयमा भारतको गोरखपुरमा गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराउनुभएको थियो । उहाँ गोरखपुरमा छँदा प्रजातन्त्रको लडाइँका लागि पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाउनुहुन्थ्यो । 

बिपी कोइरालाका कट्टर अनुयायी शास्त्री समाजवादका व्याख्याता हुनुहुन्थ्यो । भूमिगत रूपमा अर्घाखाँची र गुल्मीलगायतका जिल्लामा नेपाली कांग्रेसको सङ्गठन बिस्तारमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएका उहाँले विसं २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । 

विसं २०४६ सालको जनआन्दोलनपछि भएको २०४८ सालको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट सांसदमा भारी मतले विजयी हुनाका साथै उद्योग मन्त्री बन्नुभएको थियो । विसं २०५१ को मध्यावधि निर्वाचनमा पनि विजयी हुनुभएको थियो । त्यसपछिका निर्वाचनमा पार्टीले समानुपातिक सांसद बन्न गरेको आग्रह अस्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button