तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका पत्रकारहरूमा दृष्टिदोषको समस्या, १९४ जनाको आँखा परीक्षण – ९१ जनालाई निःशुल्क चश्मा वितरण

बाँके । बाँके जिल्लाका पत्रकारहरूलाई लक्षित गरी निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरिएको छ। नेपालगञ्जस्थित गौरव स्मृति तथा Be Your Self फाउन्डेशन र नेपाल पत्रकार महासंघ बाँकेको सहकार्यमा आयोजित शिविरमा १९४ जना पत्रकारहरूले आँखा परीक्षण गराएका छन्।

नेपालगञ्ज–४ मा रहेको फाउन्डेशनको कार्यालयमा सञ्चालित सो कार्यक्रममार्फत ९१ जना पत्रकारलाई निःशुल्क चश्मा वितरण गरिएको छ। त्यस्तै, दृष्टि परीक्षणमा औषधि आवश्यक पर्ने पत्रकारहरूलाई निःशुल्क औषधि पनि प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले गर्नुभयो। उहाँले पत्रकारहरू कम्प्युटर, ल्यापटप र मोबाइलजस्ता डिजिटल उपकरणमा लामो समय काम गर्नुपर्ने भएकाले आँखाको नियमित परीक्षण आवश्यक रहेकोमा जोड दिनुभयो। गिरीले आँखालाई संवेदनशील अंगका रूपमा लिँदै यस किसिमको सामाजिक सेवामूलक कार्यक्रममा सहकार्य गरेका संस्थाहरूप्रति आभार व्यक्त गर्नुभयो।

फाउन्डेशनका संरक्षक प्रदीप शाहले संस्थाले विगतदेखि नै सामाजिक तथा मानवीय सेवामा सक्रिय भूमिका खेल्दै आएको बताउँदै पत्रकारहरूको आँखाको जाँचका लागि वातावरण तयार भएकोमा सन्तोष व्यक्त गर्नुभयो। स्व. गौरव शाहको स्मृतिमा स्थापना गरिएको फाउन्डेशनले परोपकारी भावनाले सामाजिक कार्यहरू निरन्तर अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो।

आँखा परीक्षण डा. तिलक शाह र डा. नवीन कनोजियाको टोलीले सञ्चालन गरेका थिए। डा. कनोजियाका अनुसार, अधिकांश पत्रकारहरूमा दूरदृष्टि सम्बन्धी समस्या देखिएको छ।

चार वर्षअघि यही दिन सवारी दुर्घटनामा ज्यान गुमाएका स्व. गौरव शाहको स्मृतिमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाले विगतमा पनि पत्रकारहरूको हकहितमा काम गर्दै आइरहेकाे छ।

कार्यक्रमकै अवसरमा Be Your Self फाउन्डेशनले फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न “Little and Teen Glam Pageant International 2025” मा प्रथम स्थान हासिल गरेकी नेपालगञ्जकी मोनिका कठायतलाई सम्मानसमेत प्रदान गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button