प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल शुरु
काठमाडौँ । प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल प्रारम्भ भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२८३ को बजेट प्रस्तुत गरेर १७ दिनपछि सभामा आजबाट बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको हो । सरकारले जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरेको भए पनि प्रतिपक्षी दलको अवरोधका कारण छलफल अघि बढ्न सकेको थिएन ।
सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै वर्तमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई सही दिशा दिन गरी बजेट ल्याइएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेपनि चुनौतीहरू कायमै रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने, समग्र राष्ट्रिय आयमा वृद्धि गर्ने, र सबल अर्थतन्त्र निर्माण तर्फ बजेट लक्षित भएको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार ५.५ प्रतिशतले वृद्धि गरिएको, बजेटको आकार कुल ग्राहस्थ उत्पादनको करिब २८ प्रतिशत रहेको भन्दै बजेटको आकार सन्तुलित रहने गरी गरिएको स्पष्ट पार्नुभयो ।
बैठकमा अर्थमन्त्री पौडेलले बजेटमाथिको छलफलको प्रस्ताव प्रस्तुत गरिरहँदा बीचमा नै रोकेर सभामुखसँग समय माग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद राजेन्द्र पाण्डेले अर्थमन्त्रीले बजेटका विषयमा महत्वपूर्ण भनाइ राख्दा एउटा प्रतिपक्षी दलले नाराबाजी गरिरहेकाले आफूहरूले सुन्न नसकेको बताउनुु भएको थियो ।
नाराबाजीबिच सदन सञ्चालन गर्दा बजेटबारेको अर्थमन्त्रीको प्रस्ताव खल्लो भएको भन्दै सांसद पाण्डेले संसद् रोकेर सहमति गरेर सदन चलाउन आग्रह गर्नुभयो ।त्यसपछि पनि सभामुख घिमिरेले पुनः अर्थमन्त्रीलाई प्रस्ताव राख्न अनुमति दिनुभयो ।
बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशसरण महतले बजेट विनियोजनमा देखिँदै आएको अराजकता र अनुशासन हीनता र विनियोजन धेरै गर्ने तर कार्यान्वयन नहुने परिस्थितिलाई कम गर्ने गरी बजेट आएको बताउनुभयो ।
उहाँले तीन करोडभन्दा तलको बजेट सङ्घले नबनाउने कार्यविधि कार्यान्वयन गर्ने कोसिस गरेको, चारहजार भन्दा धेरै आयोजना कटौती गरेको, बजेटलाई परिणाममुखी बनाउन अर्थमन्त्री गर्नुभएको कोसिस सह्रानीय रहेको बताउनुभयो ।
नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले समस्या पहिचान र समाधान केन्द्रित, अर्थतन्त्रलाई सुधार गर्ने र अहिलेको आर्थिक अवस्था अनुकूल बजेट आएको भन्दै बजेट तुलनात्मक रुपमा यथार्थपरक रहेको बताउनुभयो ।
सांसद आचार्यले बजेटले केही सुधार गर्न खोजे पनि त्यसको कार्यान्वयनमा चुुनौति रहेको भन्दै त्यसका लागि प्रभावकारी योजना बनाएर सरकार अगाडी बढ्नुपर्ने बताउनुभयो ।
उहाँले बजेट निजी क्षेत्रको समस्या समाधानतर्फ उन्मुख, लगानीमैत्री, प्रविधिमैत्री तथा विकास आयोजना केन्द्रित गरी नयाँ ढंगले पुनर्संरचना गर्ने र प्रतिफल केन्द्रित गर्नेगरी बजेट आउनु सकारात्मक भएको बताउनुभयो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा नाराबाजी गर्दै आएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी भने सत्तारुढ एमालेसँग दुई बुँदे सहमतिसँगै अवरोध फिर्ता लिएपछि संसदमा बजेटको सैद्धान्तिक पक्षमाथि धारणा राख्ने क्रम जारी रहेको छ ।
सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत विनियोजनमाथि छलफल सभामुख देवराज घिमिरेले सभामा जानकारी गराउनुभएको छ ।
बैठकमा सांसदहरुले बजेटमाथिको सैद्धान्तिक छलफलमा धारणा राख्नेक्रम जारी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्