तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया अस्पताललाई नमुना अस्पताल बनाउने लक्ष्य, ५ करोड २४ लाखको बजेट माग

बाँके । बर्दिया अस्पताल व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष रविन्द्र कुमार यादवले अस्पतालको सेवा गुणस्तरमा व्यापक सुधार ल्याउने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारसँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ । जिल्लावासीहरूलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक उपकरणको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति अभाव तथा अस्पताल आधुनिकीकरणका विविध विषयमा उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

अध्यक्ष यादवले प्रदेशका स्वास्थ्य मन्त्रीसहित मन्त्री परिषद्का अन्य सदस्यहरूसँग संवाद गर्दै बर्दिया अस्पताललाई अझ प्रभावकारी बनाउने रणनीतिहरू प्रस्तुत गर्नुभएको थियो । उहाँले अस्पतालमा देखा परेका प्रमुख समस्याहरूलाई प्राथमिकताका रूपमा राख्दै, विशेषगरी दक्ष जनशक्ति अभाव, पुराना वा बिग्रिएका उपकरणहरूको मर्मत तथा प्रतिस्थापन, आकस्मिक सेवा सुदृढीकरण र मातृ स्वास्थ्य सेवाको सुधारका क्षेत्रमा तत्काल सुधार आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

अस्पतालको दीर्घकालीन विकास योजना अन्तर्गत अध्यक्ष यादवले स्थानीय, प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा बर्दिया अस्पताललाई लुम्बिनी प्रदेशकै नमुना अस्पतालको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि अस्पतालका विविध सुधार योजनाहरू कार्यान्वयन गर्न ५ करोड २४ लाख रुपैयाँ बजेट माग गरिएको छ । उक्त बजेट अन्तर्गत आकस्मिक सेवा सुधार, अक्सिजन प्लान्ट मर्मत तथा पुनःसञ्चालन, पोष्ट ओपिडी तथा एचडियु सेवा, डेन्टल चियर खरिद, अस्पतालको रंगरोगन, आवास मर्मत, डायलिसिस वार्डको पूर्वाधार, नयाँ ओपिडी भवन निर्माण र तालिम कक्ष स्थापना जस्ता गतिविधिहरू समावेश छन् ।

बर्दिया जिल्लाको एक मात्र प्रमुख सरकारी अस्पतालका रूपमा रहेको गुलरिया स्थित बर्दिया अस्पतालले दैनिक हजारौँ बिरामीलाई सेवा दिँदै आइरहेको छ। तर, चिकित्सकको अभाव, उपकरणको कमी र आधारभूत संरचनाको कमजोर अवस्थाका कारण अस्पतालले आफ्नो सम्भावना अनुसारको सेवा दिन नसकेको स्थानीय वासीहरूको धारणा छ ।

अध्यक्ष यादवको नेतृत्वमा अगाडि बढाइएको पहलले अस्पताल सुधारको दिशामा नयाँ आशा जगाएको छ। समन्वयात्मक प्रयास र बजेटको सुनिश्चिततासँगै बर्दिया अस्पतालको सेवा प्रणालीमा गुणात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button