अत्यधिक गर्मीका कारण बारा/पर्साका अधिकांश विद्यालय बन्द
वीरगंज। अत्यधिक गर्मीका कारण पर्सा बारा जिल्लाका अधिकांश स्थानीय तहहरुले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै आजबाट विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन् । वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाले जेठ २९ र ३० गतेका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेका छन् ।
सम्बन्धित पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरी बढ्दो गर्मीका कारण बालबालिकामा देखा पर्न सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सावधानी स्वरूप बिदा दिएको जनाएका छन् । साथै, यो बिदा वर्षे बिदाबाट कट्टा हुने पनि स्पष्ट गरिएको छ ।
यसअघि, बाराको कलैया उपमहानगरपालिका र पर्साकै पोखरिया नगरपालिकाले पनि गर्मीका कारण विद्यालयहरू बन्द गरेका थिए । अत्यधिक गर्मीका कारण केही विद्यालयमा बालबालिका बेहोस हुने अवस्थासम्म पुगेपछि सम्बन्धित पालिकाहरूले पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।
हाल विद्यालय प्रशासनले जेठ ३१ गते शनिबार परेकाले नियमित कक्षा असार १ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ ।
स्थानीय तहहरूको यस्तो निर्णयले गर्मीको चपेटामा परेका बालबालिकाको स्वास्थ्य सुरक्षामा मद्दत पुग्ने विश्वास गरिएको छ । यसैबीच,स्वास्थ्यकर्मीहरूले पनि गर्मीको समयमा बालबालिकालाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन् ।
यता आज बिहानदेखि मौसम बदली भएसँगै देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण क्रमशः पर्सा, बारा लगायत मध्य तराईका जिल्लाहरूमा समेत तापक्रम केही घट्न थालेको छ ।
प्रतिक्रिया राख्नुहोस्